बच्चा चोरी बोरामा हालेर भारत लैजान लागेका भारतीय नागरिक पक्राउ

एटुजेड समाचार

काठमाडौं – सशस्त्र प्रहरीले नेपालबाट बच्चा चोरेर भारतर्तफ लैजान लागेका एकजनालाई नियन्त्रणमा लिएको छ । बाराको देवताल गाउँपालिका–३ अमुवाबाट दुईजना बच्चालाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा भारतको पूर्वीचम्पारण मुर्तिया ग्रामपन्चायत–४ आधारपुर घर भएका २२ वर्षीय ताबरेज आलमलाई नियन्त्रणमा लिइएको हो ।सशस्त्र प्रहरीका अनुसार देवतालस्थित नन्की अमुवा बस्ने शिवपुजन महतोकी ९ महिनाकी छोरी लक्ष्मी महतो र प्रेमचन्द महतोका २ वर्षीय छोरा सत्यमकुमार महतोलाई आलमले चोरी गरी बोरामा हालेर भारततर्फ लैजाँदै थिए ।

सीमावर्ती इलाकामा गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागेर आलमले बोकेको बोरा जाँच गर्दा दुईवटा बच्चा फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।उद्धार गरिएका बच्चाहरूलाई अभिभावकको जिम्मा लगाइएको छ । नियन्त्रणमा लिइएका आलमलाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू