भरतपुरको सप्तगण्डकी क्याम्पसका २३० जना पूर्वविद्यार्थी सम्मानित

चितवन – भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसका २३० जना पूर्वविद्यार्थी सम्मानित भएका छन् । क्याम्पसले आज (शनिबार) एक कार्यक्रमको आयोजना गरी विभिन्न संकायबाट स्नातक र स्नातकोत्तर तह उतीर्ण गरी विभिन्न पेसा र क्षेत्रमा कार्यरत २३० जना विद्यार्थीलाई सम्मानित गरेको हो ।
कार्यक्रममा शिक्षण पेसा, बैकिङ, निजी कम्पनीहरु र पत्रकारिता क्षेत्रका गरी २३० विद्यार्थीहरुलाई टिका, खादा लगाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको हो ।
विद्यार्थीहरुलाई कार्यक्रमका सभापती एवम् कार्यक्रमका संयोजक दिपकबाबु श्रेष्ठले टिका, क्याम्पस प्रमुख खिम दाहालले खादा, क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाले प्रमाणपत्र र क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष रमाकान्त सापकोटाले मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख केदारानाथ बरालले स्वागत मन्तव्य र पूर्वक्याम्पस प्रमुख मणिराज महतोले क्याम्पसको स्थापनादेखि आजसम्म भएका शैक्षिक उपलब्धिहरुको बारेमा अवगत गराएका थिए ।
भरतपुरको नारायणी नमूनामाविको एउटा कोठाबाट विसं २०४५ सालबाट क्याम्पसले पठनपाठन सुरु गरेको थियो ।सन् २०१७ मा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनको प्रमाणपत्र (क्युएए) प्राप्त क्याम्पस नेपालकै ठूला सामुदायिक क्याम्पसहरुमध्ये सातौं नम्बरमा पर्छ ।
कार्यक्रममा क्याम्पसका पुर्व प्रधानध्यापक,क्याम्पस सन्चालालक समितिका पदाधिकारीहरु, क्यापसका शिक्षक, शिक्षिकाहरु, पुर्वविद्यार्थी लगाएतको उपस्थिती रहेको थियो ।
तपाइँको प्रतिक्रिया