वैदेशिक रोजगारीका क्रममा गत आवमा १ हजार २०८ भन्दा धेरैले विदेशमा गुमाए ज्यान

एटुजेड समाचार

काठमाडौं – सरकारले विप्रेषणका कारण मुलुकको अर्थव्यवस्था टिकिरहेको भनिरहँदा आर्थिक वर्ष २०७९/८० मा मात्रै ४५ महिलासहित एक हजार २०८ युवाले ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको सङ्ख्या उल्लेख्य रहेको छ । यो सङ्ख्या यस अवधिमा विदेशमा मृत्य् भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट आर्थिक सहायता रकम लिनेको सङ्ख्या हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउने धेरै रहेका छन् ।

बोर्डका अनुसार यस अवधिमा एक हजार २०८ मृतक श्रमिकका परिवारलाई आर्थिक सहायतास्वरूप ६५ करोड ५१ लाख ८० हजार रुपियाँ प्रदान गरिएको छ । पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिक मृत्युकुण्डमा होमिन पुगेका हुन् । तथ्याङ्क अनुसार औसतमा दैनिक चार वटा शव काठको बन्द बाकसमा विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् ।

बोर्डका अनुसार आव २०६५/६६ साउनदेखि आव २०७९/८० सम्म १२ हजार १४० जनाले ज्यान गुमाएका छन् । यो सङ्ख्या बोर्डको सचिवालयबाट आर्थिक सहायता रकम लिनेको मात्रै हो । यस अवधिमा मलेसियामा सबैभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । आव २०७८/७९ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेको सङ्ख्या एक हजार ४८९ जना रहेको बोर्डले जनाएको छ । आव २०७८/७९ को तुलनामा २०८९/८० मा विदेशमा मृत्यु हुनेको सङ्ख्या २८१ जना कम छ । अघिल्ला वर्ष कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या गएको वर्षभन्दा बढी भएको बोर्डका निर्देशक राजन पौडेलले जानकारी दिनुभयो ।

आव २०७६/७७ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ६५६ श्रमिकका आफन्तलाई बोर्डबाट सात लाख रुपियाँको दरले आर्थिक सहायता दिएकामा सो सङ्ख्या आव २०७७/७८ मा वृद्धि भएर एक हजार २४२ पुगेको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू