चितवन – राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८० सालमा सञ्चालित कक्षा १२ को बोर्ड परीक्षामा चितवनको गुरुकुल कलेजले उत्कृष्ट नतिजा हासिल गरेको छ । कलेजका विद्यार्थी उत्कृष्ट नतिजा सहित जिल्ला प्रथम र जिल्ला तृतीय हुन सफल भएका हुन् । जिल्ला प्रथम हुन सफल कलेजका विद्यार्थी समीर शर्मा पौडेल (३.९० जीपीए) र जिल्ला तृतीय भएका रसिम सुनारले (३.८५ जीपीए) ल्याएको कलेजका सहप्राचार्य प्रतिक ढकालले जानकारी दिनुभयो ।
कलेजले उत्कृष्ट विद्यार्थीलाई आज (विहिबार) एक कार्यक्रमको आयोजना गरेर सम्मान समेत गरेको कार्यक्रम संयोजक हरिहर भुसालले बताउनुभयो । कलेजबाट २६७ जनाले परीक्षा दिएकोमा ९० प्रतिशतले राम्रो नतिजा ल्याएको भुसालले जानकारी दिनुभयो । जसमा १३ जनाको ‘ए’ प्लस, ६८ जनाले ‘ए’ ग्रेड सहित उत्कृष्ट नतिजा हासिल गरेका छन् ।
चितवनको पहिलो प्लस टु अध्यापन गराउने गुरुकुलले आफ्नो स्थापनादेखि नै उत्कृष्ट नतिजा प्राप्त गर्दै आइरहेको छ । कलेजले आयोजना गरेको सम्मान कार्यक्रमा जिल्ला प्रथम हुन सफल पौडेल र जिल्ला तृतीय हुन सफल सुनारले उत्कृष्ट शिक्षण विधि, विद्यार्थी मैत्री वातावरण र नियमित रुपमा सञ्चालन हुने MCQ र pre Medical, Pre Engineering कक्षाहरूका कारण यो स्थान हासिल गर्न सफल भएको बताउनुभयो । उहाँहरुले आगामी दिनमा पनि गुरुकुलको नाम उच्च राख्न यसैगरी मेहनत जारी राख्ने प्रतिबद्धता जनाउनुभयो ।