नक्कली भुटानी शरणार्थी प्रकरण : १८ जना पीडितले दिए उजुरी

काठमाडौं : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै अरबौं रकम ठगी गर्ने गिरोहविरुद्ध १८ जना पीडितले उजुरी दिएका छन्। पीडितहरूले काठमाडौं अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका हु्न्।
उनीहरूले १ करोड ८५ लाख बढी रकम ठगी गरेको भन्दै जाहेरी परेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए। प्रवक्ता रेग्मीका अनुसार
काठमाडौंमा सानु भण्डारी,केशव दुलाल समेतको संयुक्त मिलोमतोमा विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका लैजान्छु भनि विभिन्न किसिमको प्रलोभन र विश्वासमा पारी लमजुङ,सुनसरी,सिन्धुपाल्चोक,गोरखा,ललितपुर,चितवन,काठमाडौंलगायत जिल्लाहरुका १८ जना पीडितले उजुरी दिएका हुन्।
तीनवटा छुट्टाछुट्टै किटानी जाहेरी दरखास्त परेको हुँदा उक्त सक्कल जाहेरी दरखास्तलगायतका कागजातहरू आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १८ जना बढी व्यक्ति पक्राउ परिसकेका छन्।
सोही प्रकरणमा पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेस नेता बालकृष्ण खाड,नेकपा एमाले सचिव टोपबहादुर रायमाझीलगायत पक्राउ परेका छन्। उनीहरू हाल पुर्पक्षका लागि थुनामा छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको छ।
तपाइँको प्रतिक्रिया