देशभर ८७ प्रतिशत धान रोपाइँ सम्पन्न
काठमाडौं – देशभर ८७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाका अनुसार साउन २६ गते सम्म ८६ प्रतिशत धान रोपाइँ सकिएको हो ।गत वर्षको तुलनामा सात प्रतिशतले धान रोपाइँ घटेको छ । गतवर्ष साउन २८ गतेसम्म ९४ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
मनसुन ढिलो सुरु भएको र रासायनिक मल सहज उपलब्ध नहुँदा धान रोपाइँ घटेको मन्त्रालयको अनुमान छ । यस वर्ष मधेस, वाग्मती, गण्डकी प्रदेशमा रोपाइँमा कमी आएको छ ।तर, विस्तारै मनसुन सक्रिय भएसँगै रोपाइँ बढ्ने मन्त्रालयले जनाएको छ । मुलुकभर साउन मसान्तसम्म ९२–९५ प्रतिशतसम्म रोपाइँ हुन मन्त्रालयको प्रक्षेपण छ ।
लुम्बिनीमा बढ्यो, अन्यमा घट्यो
मन्त्रालयका अनुसार तुलनात्मक रूपमा लुम्बिनी प्रदेशमा धान रोपाइँ बढेको छ । अन्य प्रदेशमा रोपाइँमा कमी आएको छ ।लुम्बिनीमा गत वर्षको तुलनामा तीन प्रतिशतले रोपाइँ बढेको हो । लुम्बिनीमा २६ गतेसम्ममा ९३ प्रतिशत धान रोपाइँ भएको छ । जबकि, अघिल्लो वर्ष ९० प्रतिशतमात्र भएको थियो ।
मन्त्रालयको अनुसार कोसी प्रदेश साउन २५ गते सम्म ९४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गतवर्ष सोही समय अवधिमा ९४ प्रतिशत धान रोपाइँ भएको थियो ।मधेस प्रदेशमा गतवर्षको तुलनामा यसवर्ष २५ प्रतिशतले घटेको छ । उक्त प्रदेशमा १९ गतेसम्म ६८ प्रतिशत सम्पन्न भएको छ । अघिल्लो वर्ष सोही अवधिमा ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।
यस्तै, वाग्मतीमा १२ गतेसम्ममा ८८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । अघिल्लो वर्षमा ९७ रोपाइँ सम्पन्न भएको थियो ।गण्डकीमा पनि धान रोपाइँ घटेको छ । गण्डकी साउन २६ गतेसम्म ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । अघिल्लो वर्ष ९७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो ।कर्णालीमा २५ गते ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही समयमा ९९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो ।सुदूरपश्चिममा १२ गते ९९ धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष शतप्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया