आकर्षणको केन्द्र बेथानचोक नारायणथान
काठमाडौं – काभ्रेको बेथानचोक गाउँपालिकाको दक्षिणी भेग एवं महाभारत पर्वत शृंखलाको उच्चविन्दुमा रहेको नारायण थान मल्लकालमा नै राजपरिवारको आकर्षणको केन्द्र रहेको पाइएको छ। पालिकाको केन्द्र ढुंखर्कबाट करिब ४ घण्टाको पैदलमार्गबाट पुग्न सकिने नारायणथान जान केही माथिसम्म मोटरबाटो पनि बनेको छ। मोटरबाट जाँदा सवारी रोकेपछि कम्तीमा ४५ मिनेटको पैदल यात्रापछि नारायणथान पुग्न सकिने यो क्षेत्र मध्यकालदेखि हालसम्म पनि पर्यटकीय एवं धार्मिक महत्वको केन्द्रको रूपमा रहेको हो। संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रले तीन महिना लगाएर गरेको अध्ययनबाट यस क्षेत्रको ऐतिहासिक महत्वबारे जानकारी प्राप्त भएको हो।
महाभारत डाँडोमा कचौरा आकारको भू-बनोटमा एउटा नारायणको मन्दिर छ। त्यसको पश्चिमपट्टि गणेशको मन्दिर छ। सोभित्र गणेशको साढे १३ इन्च अग्लो ढुंगाको मूर्ति छ। त्यसकै छेउमा दक्षिणपट्टि विष्णुको मन्दिर छ। यो मन्दिर करिब १० फिट अग्लो छ। त्योभित्र ३५ इन्च अग्लो र २३ इन्च चौडा हातमा शंखचक्र गदा पद्म लिएको स्थान आसनमा रहेको विष्णुको शिलाको मूर्ति छ। त्योसँगै २१ इन्च अग्लो लक्ष्मीको र २३ इन्च अग्लो विष्णुको अर्को मूर्ति रहेको छ। यो मन्दिर उत्तरतिर फर्किएको छ। त्यसको उत्तरपूर्वमा विशाल सत्तल बनाइएको छ। पाटीसँगै वैवा स्वामी १००८ राघवेन्द्रको शालिक बनाइएको छ। स्थानीय ज्ञानप्रसाद आचार्यका अनुसार २०४२ सालमा वैष्णव गुरु राघवेन्द्राचार्यले यहाँ आएर विशेष पूजा एवं धार्मिक कार्यक्रम गररेका थिए। त्यही सम्झनामा उनको मूर्ति बनाइएको हो।
ऐतिहासिक स्रोतमा उल्लेख भएअनुसार राजमाता भाउजु रिद्धिलक्ष्मी र चौतारा लक्ष्मीनारायणको चर्तिकला हेर्न बाध्य महीपतेन्द्र यताउता भड्किन थाले। कुनै बेला पाटनमा बसेका उनी पछिल्लो समय पशुपति क्षेत्रमा गई बसेका थिए। लक्ष्मीनारायणले उनलाई त्यहाँबाट धपाउन अनुरोध गर्दा पनि पशुपतिका पुजारी राघवेन्द्र स्वामीले मानेका थिएनन्। तर लक्ष्मीनारायणले सिपाही पठाई महीपतेन्द्रलाई मारे। महीपतेन्द्रलाई बलजफ्ती मारेपछि यस्ता पापीको राज्यमा बस्दिनँ भनी राघवानन्द स्वामी काठमाडौं राज्य छाडी हिँडेको इतिहास भेटिन्छ। कतिपय इतिहासकारले उनी त्यहाँबाट हिँडेर महाभारतको डाँडोमा तपस्या गरेर बसे भन्ने उल्लेख गरेका छन्। तर यसमा आधिकारिकता भने भेटिएको छैन। मन्दिरभित्र स्तम्भको जस्तो देखिने तीनवटा खण्डित टुक्राहरू भेटिएका छन्। ती कुनै मूर्तिको पादपीठका लागि बनाइएको जस्ता देखिन्छन्।
विष्णुको अघि राखिएको गरुढस्तम्भ भर्खरै बनाएको हो। आसपासमा पोलिएका र नपोलिएका केही माटोका भाँडाका टुक्राहरू पनि भेटिएका छन्। मन्दिरको करिब २० मिटर दक्षिणतिर एउटा गुफा रहेको छ। सो गुफा कतैबाट भूभाग फाटेर बनेको जस्तो बनेको छ। तर करिब छ दशकअघि उल्लेखित पुस्तकमा उल्लेख गरिएको जस्तो बनोटमा भने यो गुफा भेटिँदैन। बेथानचोक नारायणथान भूपतीन्द्र मल्लको समयभन्दापूर्वदेखि नै राजा महाराजाको रोजाइको क्षेत्र थियो। १८औँ शताब्दीको तेस्रो दशकमा भक्तपुरको राजा बनेका जगज्योतिर् मल्ललाई राज्यबाट निकाला गरेपछि उनी यही नारायणथानमा शरण लिन आएको कुरा कृष्णप्रसाद पराजुलीले आफ्नो पुस्तक पूर्व एकनम्बरमा उल्लेख गरेका छन्। तर अन्य कतिपय इतिहासकारहरूले उनी भागेको नभई आफ्नो राज्यकाल बीचैमा छाडेर छोरालाई जिम्मेवारी दिएको उल्लेख गर्ने गरेका छन् । तर उनको जीवनकालमै छोरा भूपतीन्द्र मल्ल राजा बनेको इतिहास भने अकाट्य छ।
यो क्षेत्रमा मध्यकालमा राजामहाराजाहरूको आवतजावतको इतिहासले यो राजनीतिक महत्वको एक क्षेत्र हो भन्ने प्रमाण पाइन्छ। यहाँ जयज्योतिर् मल्लको राज्यकालपछि उनलाई सोही क्षेत्रमा धपाएको इतिहास, भूपतीन्द्र मल्लले सपनामा चाँगुनारायण बेथानचोकमा बसेको भनेर सपना देखेपछि उनी नारायणथान आएका थिए भन्ने इतिहास छ। यसले पनि यो क्षेत्र ऐतिहासिक महत्वको क्षेत्र थियो भन्ने देखिएको हो।रासस
तपाइँको प्रतिक्रिया