रत्नप्रिय क्लवको रक्तदानमा ७९ युनिट रगत संकलन
रत्ननगर – रत्ननगर वडा नं ९ मा रहेको रत्नप्रिय क्लवको प्रथम बार्षिक उत्सवको अवसरमा शनिवार रक्तदान कार्यक्रम गरिएको छ ।
“मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” “स्वस्थ रहौं, समृद्ध बनौं” भन्ने मूल नाराका साथ रत्नप्रिय क्लवको आयोजना तथा रत्ननगर नगरपालिका वडा नं. ९ को सह आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ७९ जनाले रक्तदान गरेको कल्वका अध्यक्ष बसन्त रानाले जानकारी दिए । रानाका अनुसार ७४ पुरुष र ५ जना महिलाले रक्तदान गरेका थिए । चितवनमा रगतको अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम गरिएको उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले चितवनमा मात्रै नभइ देशैभर रगत अभाव भइरहेको अवस्थामा रक्तदान कार्यक्रम गर्नु प्रशंसनीय भएको बताए । ‘हरेक चिज बनाउन चाहेमा बनाउन सकिन्छ, उनले भने, रगत बनाउन सकिदैन, रगत अति आवश्यक छ ।
पूर्वी चितवन लागु औषधको हव बनिरहेको अवस्थामा रत्न प्रिय क्लबले लागु औषध नियन्त्रण, ट्राफिक सचेतना, सरसफाई, खेलकुद लगाएत सामाजिक क्षेत्रहरुमा थुप्रै उदाहरणीय कार्यहरु गरिरहेको बताए । रत्ननगर वडा नं. ९ का वडा अध्यक्ष अनन्त अधिकारीले सामाजिक क्षेत्रमा धेरै कार्यक्रम गर्ने क्लबले रक्तदान कार्यक्रमलाई पनि निरन्तरता दिएकोमा आयोजकलाई धन्यवाद दिँदै यस्ता कार्यक्रममा वडा कार्यालयले सँधै सहयोग गर्ने बताएका थिए ।
बालुवाटार विपद् व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलले यस प्रकारको रक्तदानले धेरैको जीवन बच्ने विश्वास ब्यक्त गरे । कार्यक्रममा योगदान राष्ट्रको लागि रत्ननगरका अध्यक्ष लक्ष्मण पौडेल, समाजसेवी ज्ञानेन्द्रराज पाण्डे, एनिमल वेलफेरका प्रतिनिधि रामचन्द्र आचार्य लगाएतको उपस्थिति थियो ।
क्लवका सचिव विजय लामाले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक विसाल ओझाले स्वागत मन्तव्य राखेका थिए ।
तपाइँको प्रतिक्रिया