उच्चस्तरीय छानबिन समितिले सुन अनुसन्धान ओझेलमा पर्छ : बामदेव गौतम

काठमाडौं – राष्ट्रियसभा सदस्य बामदेव गौतमले सुन तस्करी लगायतका प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुराउनुपर्ने बताएका छन्। बुधबार बसेको राष्ट्रियसभा बैठकमा गौतमले सुन तस्करी, नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा अनुसन्धान सुरु गरेर सरकारले राम्रो काम गरेको भन्दै यस्ता प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुराउनुपर्नेमा उनको जोड दिए ।
गौतमले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने मागले अहिलेको अनुसन्धानलाई नै प्रभाव पर्ने जिकिर गरे । उच्चस्तरीय छानबिन समिति गठन गरेपछि पनि क्षेत्राधिकार र कार्यदेशको प्रश्न उठ्न सक्ने र प्रधानमन्त्रीले समेत राजीनामा गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए।
गौतमले प्रधानमन्त्रीलाई नै हटाउन खोजिएको हो भने अविश्वासको प्रस्ताव ल्याउन सुझाव समेत दिए। उनले सरकारले नै छानबिनका लागि समय माग गरेकाले पर्खनुपर्ने र त्यसपछि मात्रै उच्चस्तरीय छानबिन समिति माग गर्नुपर्ने जिकिर गरे।
राष्ट्रियसभा बैठकमा नेकपाल एमालेका सांसदहरूले सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न छानबिन समितिको माग गर्दै विरोध जनाए। एमाले सांसदहरूले आफ्नो अडान नछोडेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साउन २६ गते शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिए।
यसअघि सुन तस्करी प्रकरणको विषयलाई लिएर एमाले सांसदहरूले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक पनि स्थगित भएको थियो।
तपाइँको प्रतिक्रिया