भरतपुर ११ का बृद्ध बृद्दाले बिहान ६ बजेबाट लाइन बस्दा पनि पाएनन् सेवा
भरतपुर – उमेर पुगेका बृद्ध बुवा अमाहरुका लागि सामाजिक सुरक्षा भत्ता नैसर्गिक अधिकार हो । बुढेसकाल सहज होस भनी राज्यले सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने गरेको हो । उक्त सुरक्षा भत्ता नियमित रुपमा पाउनका लागि प्रत्येक वर्ष नविकरण गर्नुपर्छ । कोहि बसाई सराइ गरेर जान्छन, कसैको मृत्यु हुने भएको र सो को अभिलेखमा त्रुटि नहोस् भनी भत्ता कार्डको नवीकरण गर्ने गरिन्छ । तर भरतपुर महानगरपालिका वडा न. ११ मा भने सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गर्नका लागि बृद्ध बुवा आमाहरु बिहान ६ बजेदेखी लाइनमा बस्छन् ।
बुढेसकाल सहज बन्ला भनेर दिइने वृद्ध भत्ता लिने परिस्थिति चाहिँ ११ न. वडामा असहज बनेको छ । वृद्ध बृद्दाहरु बिहान ६ बजेदेखी लाइनमा बस्छन् तर ४/४ दिन सम्म पनी सेवा नपाई फर्कनु परेको अवस्था त्यहाँको छ । हप्ताको ६ दिनमा आइतबारदेखि बिहीवारसम्म दैनिक ३५ जनालाई र शुक्रबार १ दिन २० जनालाई टोकन दिने त्यहाँको नियम रहेको छ । सुर्य प्रसाद न्यौपाने नाम गरेका ८० बर्षिय एक बृद्ध भन्छन् म आउन लागेको आज ४ दिन भयो, न टोकन पाउछु न सेवा ।
पहिले त यस्तो थिएन किन के कारणले यस्तो नियम बसालियो ? यस्तो नियमले गर्दा हामिले त दु:ख पायौं नि ! दुखेसो पोख्दै उनी भन्छन् आज पनि सेवा पाउने हो कि होईन । त्यस्तै दुई बर्ष अघिदेखी भत्ता बुझ्न थालेका ७२ बर्षिय शिवकमल घिमिरेको पनि उस्तै गुनासो रहेको छ बिहानै आयो बेलुका गयो दु:ख मात्र पाइयो सेवा भने पाइएन । वडाको गेट छेवैमा टुक्रुक्क बसेकी ७० बर्षिय एकल महिला बसुन्धरा घिमिरे भन्छिन बिहान ७ बजे आए, पालो आउँछ कि आउदैन थाहा छैन । यसरी बसेकी छु उठ्ने बस्ने गर्दा असहज हुन्छ घोडा दुख्छ अलि सजिलो नियम ल्याइदिए हुन्थ्यो ।
के भन्छन् वडा अध्यक्ष
यहि गुनासो वडा अध्यक्ष कमल मल्ल सङ्ग राख्दा यो परिस्थितिको जानकार रहेको सहजै बताए । उनका अनुसार भरतपुर महानगर भित्रका २९ वटा वडाहरु मध्ये सामाजिक सुरक्षा भत्ताको सेवा लिने सबै भन्दा धेरै १९ सय जना हाम्रो वडामा रहेका छन् कम कर्मचारी र धेरै सेवाग्राही भएका कारण यस्तो भएको हो। सेवाग्राहिको कागजपत्र मिलाएर स्क्यान गरेर एक जनाको नवीकरण गर्दा कम्तिमा १५ मिनट लाग्छ, अहिले दिइराखेको सेवा पनि धेरै हो तत्काल ३५ जना भन्दा धेरैलाई सेवा दिन सकिने परिस्थिति छैन् । कहिले देखि सेवा सहज होला त ? भन्ने ए टु जेड समाचारको प्रश्नमा उनी भन्छन् आज छलफल गर्छु २/४ दिन भित्रमा नै दुई जना कर्मचारि थप गरि सेवावृद्धि गर्नेछौ ।
तपाइँको प्रतिक्रिया