छोरी जन्माउने आमालाई नगरपालिकाले दुई हजार भत्ता दिने
धनगढी – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले छोरी जन्माउने आमालाई २ हजार प्रोत्साहन भत्ता वितरण गर्ने भएको छ। चालु आर्थिक वर्षदेखि लागु हुने गरी नगरपालिकाले ‘बालिका प्रोत्साहन’ कार्यक्रम अन्तरगत भत्ता वितरण गरिने नगर उपप्रमुख द्रोपती रानाले बताइन्।
‘भ्रुण परीक्षण गरेर छोरी भए, अपरेशन गरेर फाल्ने चलन छ। त्यसलाई रोक्न हामीले बालिका प्रोत्साहन कार्यक्रम अघि सारेका छौं, यसले भ्रुण चेक गर्ने अपराध कम हुने अपेक्षा राखेका छौं,’ उनले भनिन्। उनका अनुसार नगरपालिका भित्र अहिले पनि सानै उमेरमा विवाह गर्ने र त्यसैमाथि छोराको आशमा पटक-पटक गर्भपतन गर्दा महिलाको स्वास्थ्यमा गम्भिर असर परेको छ।
बालिका प्रोत्साहन कार्यक्रमले बालविवाह पनि कम हुने नगरपालिकाले अपेक्षा राखेको छ। बालिका प्रोत्सान कार्यक्रममा आमाको नागरिकता, विवाह दर्ता, छोरीको जन्मदर्ता लगायतका कागजात र अन्य सबै प्रक्रिया पुरा गरेर खाता खोलिने छ।
छोरी जन्माउने आमालाई उनीहरूले खोलेको खातामा दुई हजार रकम नगरपालिकाले उपलब्ध गर्ने उपप्रमुख रानाले बताइन्।
तपाइँको प्रतिक्रिया