यातायातसम्बन्धी समस्या समाधान गर्न आवश्यक सहजीकरणको लागि प्रजिअको ध्यानाकर्षण पत्र

चितवन – चितवन उद्योग संघले चितवनका सबै स्थानीय पालिकाहरुका पालिकास्तरीय समितिमार्फत सम्बन्धित पालिकाभित्रका यातायातसम्बन्धी समस्या समाधानका लागि आवश्यक सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, रत्ननगर समितिका अध्यक्ष गोविन्दप्रसाद खनाल, खैरहनी समितिका अध्यक्ष युवराज पाठक, कालिका समितिका अध्यक्ष चन्द्रकान्त सुवेदी, राप्ती समितिका अध्यक्ष सुदीपकुमार ओलीद्वारा संयुक्तरुपमा हस्ताक्षरित ध्यानाकर्षण पत्र चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई बुझाइएको हो ।
चितवनका पूर्वी क्षेत्रमा सञ्चालनमा रहेका लघु, घरेलु तथा साना उद्योगका लागि आवश्यक कच्चा पदार्थ तथा उद्योगका उत्पादनहरु सार्वजनिक सवारीसाधनमार्फत भरतपुर तथा नारायणगढ क्षेत्रमा ओसारपसार गर्ने गरिएको र पूर्वी चितवनका उद्योगहरुमा कार्यरत कर्मचारीहरु कामको सिलसिलामा दिनहुँजसो नारायणगढसम्म आउनजान पर्ने अवस्था भएको तर हाल भरतपुर महानगरपालिकाले पूर्वी क्षेत्रबाट आउने सार्वननिक यातायातका साधानहरु (विशेषतः मिनीबस, म्याजिक तथा नारायणगढसम्म सञ्चालन हुँदै आएका हेटौंडा तथा वीरगन्जबाट चल्ने बसहरु) केन्द्रीय बसपार्कसम्म मात्र चल्न पाउने प्रावधान बनाएका कारण पूर्वी चितवनका उद्योगमा कार्यरत कर्मचारी, सर्वसाधारणहरु तथा उद्योगका उत्पादन तथा कच्चा पदार्थहरु सहजरुपमा नारायणगढसम्म ल्याउने÷लैजाने अवस्था नरहेको पत्रमा उल्लेख छ ।
ध्यानाकर्षण पत्रमा सार्वजनिक यातायातका साधानहरु केन्द्रीय बस टर्मिनलमा नै रोकिँदा पूर्वी चितवनबाट अध्ययनका लागि भरतपुर तथा नारायणगढ आउने विद्यार्थीहरु, अन्य यात्रीहरुलाई बीच बाटोमै ओर्लनु परेको, पटकपटक सवारीसाधन बदल्नु पर्दा एउटै भाडादरमा गन्तव्यमा पुग्ने सकिने यात्रामा सरकारले तोकेको भाडादरभन्दा बढी खर्चिलो हुने गरेको, बढी समय लाग्ने गरेको लगायतका समस्याहरु भोग्नुपरेको उल्लेख गरिएको छ ।
प्रशासनिक रुपमा जिल्लाको अभिभावकको भूमिकामा रहिरहँदा प्रमुख जिल्ला अधिकारीले पूर्वी चितवनबाट चल्ने सार्वजनिक यातायातका साधानहरु (विशेषतः मिनीबस, म्याजिक तथा बसहरु) लाई नारायणगढसम्म चल्ने व्यवस्था कार्यान्वयन गराई पूर्वी क्षेत्रबाट नारायणगढसम्मको सार्वजनिक यातायातको सम्बन्धमा उद्योगी, व्यवसायी, विद्यार्थी तथा आम सर्वसाधारणले भोग्नु परिरहेको सास्ती समाधान गर्न पहलकदमी गरिदिनको लागि उद्योगीहरुको अनुरोध गरेका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पत्रमा उल्लेख गरिएका विषयमा यसअघि पनि विभिन्न निकायहरुबाट जानकारी भएको यस विषयमा जिल्ला प्रशासन कार्यालयले निकै चासोका साथ हेरिरहेको र सम्बन्धित निकायहरुसँग छलफल समेत अगाडि बढाइएको जानकारी गराएका थिए । प्रमुख जिल्ला अधिकारी पौडेलले तत्कालै समस्याको समाधान हुन नसके पनि यसलाई सडक निर्माण सकिएलगत्तै कार्यान्वयनमा ल्याउन आफूहरु लागिपरेको समेत बताए ।
कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, बरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद न्यौपाने, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, रत्ननगर समितिका अध्यक्ष गोविन्द प्रसाद खनाल, खैरहनी समितिका अध्यक्ष युवराज पाठक, राप्ती समितिका अध्यक्ष सुदीपकुमार ओली, खैरहनी समितिका उपाध्यक्ष डोलबहादुर कार्की (अविनाश), संघका सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया