कार्यालयको काम छाडेर लोकसेवा पढाउँछन् ‘हाकिम’हरू
काठमाण्डौ – सेवा प्रभावित हुने गरी सरकारी अधिकृतहरू कार्यालय समयमा समेत लोकसेवा कक्षा सञ्चालन गर्ने इन्स्टिच्युट धाउन थालेका छन् ।कामै नगरेर तथा बिदा लिएर लोकसेवा तयारीको कक्षा लिन जाने सचिवसम्मका ७० अधिकृतलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।
कार्यालयको काम र सेवाप्रवाहमा असर नपर्ने गरी मापदण्डका आधारमा स्वीकृति लिएर कार्यालय समयबाहिर यसरी पढाउन पाउने व्यवस्था छ । तर, अनुमति नलिई इन्स्टिच्युटमा पढाउनेहरूलाई मन्त्रालयले स्पष्टीकरण सोध्न तथा कारबाही गर्न सक्छ । अनुमति नलिई लोकसेवा कक्षा लिने कर्मचारीहरूविरुद्ध २५ माघ ०७९ मा अख्तियारमा उजुरी परेको थियो ।
अख्तियारले उजुरी सम्बन्धमा छानबिन र आवश्यक कारबाही गरी त्यसको जानकारी गराउन ६ जेठमा मन्त्रालयलाई उजुरीसहित पत्र काटेको थियो । अख्तियारका प्रवक्ता भोला दाहालले उजुरी परेपछि सम्बन्धितहरूलाई आवश्यक कारबाही गर्न संघीय मामिलालाई लेखी पठाइएको बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
तपाइँको प्रतिक्रिया