निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध
पाल्पा – पाल्पा बुटवल सडकखण्डको सिद्धबाबा सुरुङमार्ग निर्माणाधिनस्थल ड्यामसाइटतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धबाबा सुरुङमार्ग निर्माणाधिन स्थलको दुबै तर्फको सुरुङ प्रवेश स्थलमा पहिरो खसेपछि शनिबार रातिदेखि सडक अवरुद्ध भएको हो।
अवरुद्ध सडक सञ्चालनमा आउन नसकेको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ । सडकमा खसेको पहिरो पन्छाउन सिद्धबाबा सुरुङमार्ग निर्माण कम्पनी चाइना स्टेट कर्पोरेसनका प्राविधिक तथा डोजर, स्काभेटर परिचालन भएको दोभान प्रहरी चौकीले जनाएको छ ।
वर्षायाममा समेत निर्माण कम्पनी चाइना स्टेटले लगातार काम गरिहरेको छ। मेसिनको थर्काइबाट ठूलो पहिरो खसेको हुनसक्ने प्राविधिकहरूले अनुमान गरेका छन् । पहिरोले सडक खुलाउन केही समय लाग्ने पाल्पा प्रहरीले जनाएको छ ।
सडक बन्द हुँदा पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाची, पर्वत, बाग्लुङ, कास्कीलगायतका आवतजावत गर्ने सवारी साधनहरु रोकिएका छन् । सिद्धार्थ राजमार्ग भारतीय सिमान सुनौलीबाट पोखरा जोड्ने मुख्य राजमार्ग हो । रासस
तपाइँको प्रतिक्रिया