प्रचण्डले बालुवाटारमा बोलाए माओवादी केन्द्रको पदाधिकारी बैठक

एटुजेड समाचार

काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार दिउँसो ३ बजे बालुवाटारमा पदाधिकारीको बैठक बोलाइएको सचिव डिलाराम आचार्यले जानकारी दिए।

उनका अनुसार आजको बैठकमा प्रचण्डले साउन १७ गते बोलाइएको केन्द्रीय समितिको बैठकमा पेश गर्ने राजनीतिक दस्तावेज, सांगठनिक प्रतिवेदन पेश गर्नेछन्।

यस अगाडि देखिनै प्रधानमन्त्री हुने दलले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक राखेपछि आलोचना हुँदै आएको छ। तत्कालीन नेकपा र कांग्रेसको बैठक बालुवाटारमा राख्दा प्रधानमन्त्री निवासलाई पार्टी प्यालेसजस्तो बनाइएको भन्दै आलोचना भएको थियो । प्रधानमन्त्रीलाई बालुवाटारमा पार्टी कार्यक्रम नगर्न नागरिक अगुवाहरुले सुझाव दिँदै आएका छन्।

शनिबार बालुवाटारमा बसेको पदाधिकारी बैठकमा वर्तमान राजनीतिक कोर्ष, पार्टी र बैठकमा पेस गरिने संगठनको राजनीतिक दस्तावेज, विधानबारे अध्यक्ष प्रचण्डले नेताहरूसँग सल्लाह मागेका थिए।

सचिव आचार्यका अनुसार पार्टी अध्यक्ष दाहाललाई कसैले लिखित र कसैले मौखिक सल्लाह पेस गरेका छन्। बैठकमा केन्द्रीय समितिलाई उत्साह भरेर कार्यविभाजनसहित जिल्लामा पठाउन पार्टी अध्यक्षसँग नेताहरूले प्रस्ताव राखेका थिए। मिटरब्याजको विषयमा पीडितहरूको असन्तुष्टिलाई सम्बोधन गर्न सरकारले छलफल गर्नुपर्ने नेताहरूले प्रधानमन्त्री वा पार्टी अध्यक्ष दाहाललाई सल्लाह दिएको छ।

पदाधिकारी बैठकमा विशेष महाधिवेशन, पार्टीको संरचना र नेतृत्व फेरिनु पर्ने पनि कुरा उठेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू