रोटरी क्लब अफ नारायणगढद्वारा आमाको घर आश्रममा वृक्षारोपण

एटुजेड समाचार

चितवन – ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले मकवानपुरको मनहरीमा सञ्चालन गरेको आमाको घर आश्रमको पार्कमा रोटरी क्लब अफ नारायणगढले वृक्षारोपण गरेको छ । आमाको घरबाट संरक्षित पार्कमा शनिबार विभिन्न प्रजातिका एक सय भन्दा बढी बिरुवा रोपिएको हो ।

हरियो वन नेपालको धन अवधारणामा केन्द्रित हुँदै एक लाख बिरुवा रोप्ने रोटरीको अभियान अन्तर्गत वृक्षारोपण गरिएको हो । क्लबले गत वर्ष पनि सोही पार्कमा वृक्षारोपण गरेर आफ्नो कार्यकालको सुरुवात गरेको थियो ।

नारायणगढ रोटरीले आश्रमका लागि खाद्यान्न पनि सहयोग गरेको थियो । करिब एक लाख रुपैयाँ बराबरको सहयोग गरिएको क्लबले जनाएको छ ।

आध्यात्मिक चिन्तन सहित स्थापना गरिएको वृद्धाश्रममा कार्यक्रम गरेर नयाँ कार्यकाल सुरु गर्ने क्लबको योजना अनुसार कार्यक्रम गरिएको हो । क्लबका अध्यक्ष भोलानाथ लामिछानेले सामाजिक भावसँग जोडिएको कारण आश्रममा समर्पित गरेर कार्यक्रम आयोजना गरेको बताए ।

“हामीले आमाको घरबाट क्लबको कार्यकाल सुरु गर्ने योजनाअनुसार कार्यक्रम गरेका हौं,” उनले भने, “आमाको महत्त्व बोकेको पवित्र घरबाट कार्यकाल सुरु गर्ने योजना गत वर्षबाट सुरु भएको हो ।” क्लबको कार्यकाल जुलाईबाट सुरु हुन्छ । मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले आमाको घरलाई गाउँपालिकाले महत्त्व दिएर सहयोग गरिहरेको बताए ।

आश्रमका विजयराज सिग्देलले आमालाई स्वतन्त्रपूर्वक बस्नका लागि बनाइएको आश्रमको रुपमा परिचय गराए । “घर छोडेकोमा पश्चाताप नहोस् भनेर बनाइएको हो,” उनले भने, “सकेसम्म घरबाट यहाँ आउन नपरोस् । आउनै परे दुःख नहोस् भनेर सुविधाको व्यवस्था गरेका छौं ।”

कार्यक्रम संयोजक सहनलाल प्रधानले स्वार्थ भन्दामाथि सेवा भन्ने नारा बोकेको रोटरीको मान्यता अनुसार आमाको घरमा पहिलो कार्यक्रम समर्पित गरेको बताए । आश्रममा आवश्यक परेको खाद्यान्न सहयोग गरेको बताए । कार्यक्रममा नारायणगढ रोटरीको स्पाउस क्लबकी अध्यक्ष पूर्णिमा श्रेष्ठ , क्लबका सचिव सेवन पन्त , मनहरी गाँउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण उप्रेती लगायतले बोलेका थिए ।

कार्यक्रममा क्लबका सदस्य दिपेन्द्र श्रेष्ठले आफ्ना बुबाको स्मृतिमा बीस हजार रुपैयाँ सहयोग गरेका थिए । त्यस्तै, सुमनराज श्रेष्ठको परिवारले पनि आश्रमलाई पाँच हजार नगद सहयोग गरेका थिए ।

कार्यक्रममा आमाको घर आश्रमले रोटरी क्लबका अध्यक्ष भोलानाथ लामिछाने र स्पाउस क्लबकी अध्यक्ष पूर्णिमा श्रेष्ठलाई सम्मान गरेको गरेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू