सुर्खेत – कर्णाली प्रदेश सरकारले चार सय ४० पशुपालक कृषकलाई रु ६८ लाख ७३ हजार ‘हेरालो भत्ता’ दिएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्ष २०७९र८० मा यहाँका हिमाली चार जिल्लाका भेडा च्याङ्ग्रा पालक कृषकलाई ‘हेरालो भत्ता’ उपलब्ध गरेको हो ।
मन्त्रालयअन्तर्गत पशुपक्षी विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक कृष्णप्रसाद पङ्गेनीका अनुसार ‘हेरालो भत्ता’ कार्यक्रम उच्च हिमाली जिल्ला डोल्पा, हुम्ला, मुगु र जुम्लामा लागू भएको थियो ।
उहाँले भन्नुभयो, “प्रदेश सरकारले खासगरी भेडा च्याङ्ग्रा पालक किसानलाई प्रतिमहिना रु एक हजार पाँच सयका दरले वार्षिक रु १८ हजार रकम उपलब्ध गराएको छ । पचासभन्दा माथि भेडा–च्याङ्ग्रा पालेका कृषकलाई प्रोत्साहनस्वरुप प्रदेश सरकारले ‘हेरालो भत्ता’ दिएको हो ।”
प्रदेश सरकारले कृषि क्षेत्रमा युवा जनशक्तिको आकर्षण बढाउने र कृषकको जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यसहित उक्त कार्यक्रम ल्याइएको जनाएको छ ।रासस