चितवनमा सुनको कारोबारमा ७५ प्रतिशतले गिरावट

चितवन – चितवनमा सुनचाँदीको कारोवारमा मन्दी आएको व्यवसायीले बताएका छन् । अन्य क्षेत्रमा जस्तै सुनको व्यापार पनि ठप्प भएको व्यवसायीले बताएका हुन्।
सामान्य दिनहरूमा दैनिक तीन केजीसम्म सुनको कारोबार हुने गरेकोमा अहिले एक केजी पनि बिक्री नभएको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष यमवहादुर विकले बताए । उनका अनुसार जिल्लामा अहिले सुन किन्नेभन्दा बिक्री गर्नेको संख्या बढी छ ।
‘अहिले सुन किन्ने उपभोक्ताहरु १० प्रतिशत आउने गरेका छन् भने विक्रीका लागि ९० प्रतिशत आउने गरेका छन्’, उनले भने, ‘आउनेमध्ये अधिकांश बैंकको ऋण तिर्ने प्रयोजनका लागि आउने गर्नुभएको छ।’
व्यवसायीसँग पैसा नभए पनि ऋण खोजेर खरिद गरेको उनले बताए। अहिले चितवनका व्यवसायीहरूले बैंकबाट सुन खरिद गरेका छैनन् । सर्वसाधारणले बेच्न ल्याएको सुन नै प्रयाप्त रहेको विकले बताए ।
‘विगतमा बैंकवाट सुन ल्याएर बेच्थ्यौँ । अहिले ल्याउनु पर्दैन, उनले भने, ‘सर्वसाधारण तथा व्यापारीले वेच्न ल्याएको सुनले नै पुग्ने गरेको छ। असार मसान्तमा व्यवसायी तथा सर्वसाधारणले सुन बेच्न धेरै ल्याएको उनले बनाए ।
सुनचाँदी व्यवसायी संघका पूर्वअध्यक्ष ज्ञानेन्द्रमान शाक्यले अहिले सुनचाँदी व्यवसायमा ७५ प्रतिशतले गिरावट आएको बताए। उनले कर्मचारीलाई समेत तलब खुवाउन कठिन भएको बताए। यो समाचार आजको नागरिक दैनिकमा छ ।
तपाइँको प्रतिक्रिया