तस्करीको एक क्विन्टल सुन गालेको दृश्य लाइभ गरेर देखाइने

काठमाडौं । विमानस्थलबाट गत २ साउनमा बरामद भएको तस्करीको १०० किलो सुन गालेको दृश्य प्रत्यक्ष प्रसारण (लाइभ) गरिने भएको छ ।
स्कुटरको ‘ब्रेक शु’मा लुकाएर ल्याइएको सुन ‘ब्रेक शु’ बाट छुट्याएर यकिन गर्दाको प्रक्रिया सर्वसाधारणलाई प्रत्यक्ष प्रसारण मार्फत् जानकारी दिन लागिएको राजस्व अनुसन्धान विभाग स्रोतले जनाएको छ ।
हालसम्मकै ठूलो सुन तस्करी घटना कसरी भयो र सुन लुकाउनका लागि के–केसम्म भयो भन्ने जानकारी दिने हिसाबले प्रत्यक्ष प्रसारण गर्न खोजिएको विभागको दाबी छ । टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दाको प्रक्रिया र सुरक्षाबारे नेपाल राष्ट्र बैंकको टक्सार विभागसँग राजस्वले छलफल समेत गरिसकेको छ ।
‘ब्रेक शु’बाट सुन छुट्याउने प्रक्रियाको प्रत्यक्ष प्रसारणका लागि राजस्वबाट प्रस्ताव आएको टक्सार विभागले जनाएको छ । ‘सुरक्षाको उपाय अवलम्बन गर्दै सरकारी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने गरी छलफल भएको छ,’ स्रोतले भन्यो ।
तपाइँको प्रतिक्रिया