सुन तस्करीको ट्रान्जिट बन्दै ‘नेपाल’ : दश वर्षमा ८ क्विन्टल सुन बरामद

काठमाडौं – सुन तस्करीको ट्रान्जिट बनिरहेको छ। एक दशक यताको तथ्याङ्कले यसको पुष्टि हुन्छ। एउटै किसिमको अपराध बारम्बार भइरहने र अझ ठुलो परिणाममा हुनुले तस्करी नियन्त्रणमा सरकारी संयन्त्र पूर्ण असफल भएको देखिन्छ। सुन तस्करी एउटा सङ्गठित अपराधको रूपमा मौलाएको बुधबार बरामद सुनको परिणामले पनि पुष्टि हुन्छ।
बुधबार साँझ राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थलबाट बाहिर लैजान लागिएको अवस्थामा करिब १ सय किलो सुन बरामद गरेको थियो। बिहीबार साँझसम्म एक भारतीय र एक चिनियाँ नागरिकसहित १० जनालाई पक्राउ गरिएको छ।
चीनबाट तस्करी गरेर ल्याउने गरिएको सुन तस्करहरूले दक्षिण छिमेक भारत पुर्याइरहेका छन्। विभिन्न तीन तहमा सक्रिय तस्करहरूले चीनबाट सुन नेपाल पठाउने, काठमाडौँमा भण्डारण गर्ने, काठमाडौँबाट नेपाल–भारतको नाका हुँदै भारत छिराउने काम गरिरहेका छन्। नेपालको आन्तरिक माग भन्दा बढी सुन बरामद हुनुको अर्थ तस्करी मौलाउनु नै हो।
नेपाल प्रहरीबाट प्राप्त तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७०/७१ देखि ०७९/८० सम्म तस्करी गरेर ल्याइएको ८०१ किलो सुन बरामद भएको छ।यसमध्ये सबैभन्दा बढी ०७४/७५ मा २ सय किलो र ०७१/७२ मा १७८ किलो सुन बरामद भएको तथ्याङ्कले देखाउँछ। र, तस्करीमा संलग्न ७०६ जना पक्राउ परेका छन्। यस तथ्याङ्कले नेपाल सुन तस्करीको ट्रान्जिट बन्दै गएको पुष्टि हुन्छ।
अझ रोचक कुरा त २०७२ भूकम्प अघि नेपाल–चीनको खासा बोर्डरबाट स्थल मार्ग हुँदै सुन तस्करी हुन्थ्यो। हवाई मार्गको तुलनामा स्थल मार्ग तस्करहरूका लागि सुरक्षित थियो। तर अहिले भने खासा नाका बन्द छ। धेरै परिमाणको सुन त्रिभुवन विमानस्थलबाटै सेटिङमा नेपाल भित्रिरहेको छ। तस्करहरूले सेटिङ मिलाएर हवाई मार्गबाट सुन तस्करी गर्न थालेका छन्। यसरी तस्करी गरेर ल्याइने गरिएको अधिकांश सुन काठमाडौँ उपत्यकाबाटै बरामद भइरहेको छ। यो समाचार नागरिक दैनिकमा छ ।
तपाइँको प्रतिक्रिया