डेंगु नियन्त्रण अभियान सशक्त रुपमा अघि बढाउन मन्त्री जोशीको निर्देशन

मकवानपुर – बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले डेंगु नियन्त्रण अभियानलाई सशक्त रुपमा अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।मंगलबार मन्त्रालयमा डेंगु रोगको विद्यमान अवस्था, रोकथाम, नियन्त्रण तथा पूर्वतयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री जोशीले डेंगु नियन्त्रण तथा संक्रमित बिरामीको उपचारका लागि प्रदेशका अस्पतालहरुलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन् । सबै सरोकारवाला निकायहरुसँग समन्वय गर्दै डेंगु नियन्त्रणमा अघि बढ्नु पर्ने उनले बताए ।
‘मन्त्रालयका मातहतका निकाय, सहकारी संस्था, टोल विकास संस्था, आमा समूह, सुरक्षा निकाय, र स्थानीय तहसम्म परिचालन गरेर डेंगु नियन्त्रणको काम गर्नुपर्छ,’ उनले भने, ‘प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थाहरुले डेंगुका बिरामीका लागि सेवा प्रवाहमा गम्भीर रुपमा अघि बढ्नु पर्छ । डेंगु नियन्त्रण एवं उपचारमा कुनै कमी नहुने गरी पूर्व तयारी र कार्यान्वयनको योजना निर्माण गरेर अघि बढ्नुपर्छ ।’
मन्त्री जोशीले कोभिड–१९ भन्दा पनि डेंगु जटिल रोगको रुपमा रहेकाले महामारीको रुप लिन नदिन सबै निकाय सतर्क अवस्थामा रहनु पर्ने बताए । जोखिमको समयमा बजारमा हुने औषधिजन्य बस्तुको अभाव हुन नदिन सबै निकायले उचित निर्णयसहित आवश्यक सामग्री खरिद तथा व्यवस्थापनमा जुट्न जरुरी रहेको उनको भनाइ छ ।मन्त्रालयको जिम्मेवारीभित्र रहेर निजी क्षेत्रबाट हुने उपचार तथा प्रयोगशाला शुल्क तोक्नेतर्फ आवश्यक तयारी गर्न समेत उनले निर्देशन दिए ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक महेश्वर श्रेष्ठले बागमती प्रदेशमा डेंगुको संक्रमण नियन्त्रणका लागि अभियान सञ्चालन गरी स्वास्थ्यकर्मीसहित टोल तहसम्म परिचालन गर्नुपर्ने बताए ।हेटौंडा अस्पतालका मेसु डा. रामचन्द्र सापकोटा अस्पतालले २५०० कीट खरिद गरेको र दैनिक २० देखि २५ वटा खपत भइरहेको बताए । उनले हालसम्म हेटौंडामा डेंगुको जोखिम र बिरामीको अवस्था जटिल नरहेको तर पूर्व तयारीको काम भने भइरहेको बताए ।
स्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख लक्ष्मण घिमिरेले मकवानपुरमा डेंगुका बिरामी फेला पर्न थालेको बताउँदै टेष्ट कीट, सिटामोल केही मौज्दात रहेको बताए । उनले सचेतना अभिवृद्धि र रिपोर्टिङको लागि काम भइरहेको बताउँदै गत वर्षमा मकवानपुरमा हेटौंडा र मनहरीमा डेंगुका बिरामी बढी फेला परेको बताए ।यस वर्षमा पनि हेटौंडा र मनहरीमै डेंगु संक्रमित फेला परेकाले सचेत हुनुपर्ने उनको भनाइ छ ।
बढ्दो छ डेंगु संक्रमण
कार्यक्रममा निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले बागमती प्रदेशमा डेंगुको अवस्था र नियन्त्रणका लागि भइरहेका प्रयासबारे अवगत गराएका थिए । उनले पछिल्लो समयमा प्रदेशको धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र मकवानपुर लगायतका जिल्लामा डेंगु संक्रमित बिरामीहरु बढ्दो क्रममा रहेको बताए ।
उनका अनुसार बागमती प्रदेशमा गत असार ३१ गतेसम्ममा ४८६ जना डेंगु संक्रमित बिरामी फेला परेका छन् । सो अवधिमा धादिङमा २७४ जना, काठमाडौँमा ४६, भक्तपुरमा ३७, ललितपुरमा २६, नुवाकोटमा २३, रामेछाप र चितवनमा २१÷२१, काभ्रेमा ११, सिन्धुलीमा १०, मकवानपुरमा ८, रसुवा ४, दोलखामा ३ र सिन्धुपाल्चोक २ जना संक्रमित भेटिएको उनले बताए ।
उनका अनुसार किटजन्य रोग अनुसन्धन केन्द्रबाट गत चैत र वैशाखमा प्रदेशका ५ जिल्लामा भएको डेंगु भेक्टर अध्ययनले २४ प्रतिशत घरमा डेंगु संक्रमणको जीवाणु फेला पारेको थियो । जसमध्ये पानी राखिएको भाँडोका आधारमा काठमाडौँमा सबैभन्दा बढी ४११, भक्तपुरमा ३८६, ललिपुरमा ३५९, मकवानपुर २५७ र चितवनमा २१० गरी कुल १ हजार ६२३ वटा भाँडामा राखिएको पानीमा डेंगु जीवाणु फेला परेको थियो ।
केन्द्रले गरेको अध्ययन अनुसार नमुना लिइएको पानी राखिएको भाँडोहरुमध्ये सबैभन्दा बढी टायरमा १८.६ प्रतिशत, ट्यांकीमा १७.७ प्रतिशत, ड्रममा १०.२ प्रतिशत, जारमा १० प्रतिशत, खुल्ला र जमेका पानीमा ९.४ प्रतिशत, बकेटमा ६ प्रतिशत र फुलका गमलामा ५.४ प्रतिशत डेंगु संक्रमणको जीवाणु भेटिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक विष्टले बताए ।
डेंगु नियन्त्रणमा यस्तो छ मन्त्रालयको तयारी
डेंगु संक्रमण नियन्त्रणका लागि मन्त्रालयले स्वास्थ्य कार्यालय प्रमुख, फोकल पर्शनसँग जुम मिटिङ गरी जोखिम नियन्त्रण र लामखुट्टेको स्रोतमै जीवाणु नष्ट गर्ने अभियान थाल्न निर्देशन दिइसकेको जनाइएको छ ।
सबै जिल्ला स्वास्थ्य कार्यालयहरुमा ¥यापिड रेस्पोन्स टिम तयारी अवस्थामा राख्न र उपचारको व्यवस्थापनमा जुट्न मन्त्रालयबाट पत्रचार भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक विष्टले बताए ।
उनका अनुसार डेंगु नियन्त्रणका लागि मन्त्रालयले स्वास्थ्य कार्यालयहरुबाट महामारी नियन्त्रण ¥यापिड रेस्पोन्स टिम परिचालन तथा प्रतिकार्य र लजिस्टिक व्यवस्थापन, स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रबाट पीसीआर सेवा विस्तार तथा महामारी व्यवस्थापनका लागि टेष्ट किट र रिएजेन्ट खरिद, अस्पतालहरुबाट महामारी नियन्त्रणका लागि इएमटी र आरआरटी परिचालनको तयारी गरिएको छ ।
डेंगु नियन्त्रणका लागि संघीय सशर्त अनुदान मार्फत् किटजन्य रोग नियनत्रणबारे. स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेवीका, सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमका लागि स्वास्थ्य निर्देशनालयलाई २ लाख रुपैयाँ, १३ वटा स्वास्थ्य कार्यालयलाई १ लाख ५० हजार रुपैयाँका दरले १९ लाख ५० हजार रुपैयाँ बजेट प्राप्त भएको उनले बताए ।
त्यस्तै संघीय सशर्ततर्फ नै डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने तथा स्थानीय तहसँगको पैरवीका लागि १३ जिल्ला स्वास्थ्य कार्यालयहरुलाई २ लाख रुपैयाँका दरले २६ लाख रुपैयाँ, स्वास्थ्यकर्मीहरुको तालिम तथा अभिमुखीकरणका लागि स्वास्थ्य तालिम केन्द्रलाई ६ लाख रुपैयाँ बजेट प्राप्त भएको उनले बताए ।
तपाइँको प्रतिक्रिया