चितवनका अस्पतालमा नि:शुल्क पार्किङको व्यवस्था गर्न मन्त्री जोशीको निर्देशन

चितवन – बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले अस्पतालहरुलाई सवारी पार्किङ शुल्क नलिन निर्देशन दिएका छन् । मन्त्री जोशीले बिरामीहरुको चाप उच्च रहने चितवनका चार ठूला अस्पतालहरुलाई पार्किङ शुल्क नलिन निर्देशन दिएका हुन् ।
मन्त्री जोशीले भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) र विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई यस्तो निर्देशन दिएका छन् ।
जोशीले भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेल, सिएमसीका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटा, सिएमएसका प्रशासकीय अधिकृत हिमनाथ घिमिरे र वीपी कोईराला मेमोरियल क्यान्सर अस्पातलका अध्यक्ष डा.विजय न्यौपानेलाई टेलिफोन सम्पर्क गरी पार्किङ निःशुल्क गर्न भनेका छन् ।
अस्पतालमा आउने बिरामी र आफन्तसँग पार्किङको नाममा लिइने शुल्कका बिषयमा जनगुनासो बढेकोले मन्त्रालयले यस्तो निर्देशन गरेको मन्त्री जोशीको भनाइ छ । “बिरामी र तीनका आफन्तले अस्पतालमा उपचारका लागि आउँदा पार्किङ शुल्क तिर्नु परेको धेरै गुनासो आए । यस्तो बाध्यता हटाउन निर्देशन गरिएको छ” उनले भने, ।
शुल्क लिने व्यवस्था हटाई सवारी साधनको सुरक्षा अस्पतालले गर्नुपर्ने उनको भनाइ छ । । मन्त्रालयले असार १५ गते नै सबै अस्पताललाई निर्देशन गरेको भन्दै उनले साउन महिनाबाटै यसको कार्यान्वयन गर्न सबैलाई आग्रह गरे । अस्पातलहरुले बिरामी र तीनका आफन्तहरुबाट पार्किङ शुल्कको नाममा १० देखि ५० रुपैयाँसम्म लिदैं आएका छन् । यसले नियमित आउने बिरामी र आफन्तलाई मर्का पर्ने गरेको गुनासो आउने गरेको छ ।
तपाइँको प्रतिक्रिया