नेप्सेसँगै घट्यो कारोबार रकम

एटुजेड समाचार

काठमाडौं – लगातार दुई कारोबार दिन स्थिर रहेको धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ४.७३ अंकले घटेको छ । आइतबार र सोमबार झिनो अंकले घटेर स्थिर रहेको नेप्से आज ०.२३ प्रतिशतले घटेर २०७२.२४ विन्दुमा रोकिएको हो ।

सोमबारको तुलनामा आज कारोबार रकम पनि घटेको छ । सोमबार तीन अर्ब ७९ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज दुई अर्ब ८५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । एक दिनमै कारोबार रकम ९३ करोड ८४ लाख रुपैयाँले घटेको छ । आर्थिक वर्ष सकिन लाग्दा लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेको देखिन्छ ।आज म्युचुअल फन्ड, ऋणपत्रलगायत २८३ धितोपत्रको ७९ लाख ८८ हजार ९८६ कित्ता खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ मध्ये चार समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा विकास बैंक, फाइनान्स, म्युचुअल फन्ड र उत्पादन तथा प्रशोधन समूह रहेका छन् ।सर्वाधिक परिसूचक वृद्धि हुनेमा विकास बैंक समूह रहेको छ । यस समूहको परिसूचक ३.४२ प्रतिशतले वृद्धि भएको छ ।सर्वाधिक परिसूचक घट्नेमा होटेल तथा पर्यटन समूह छ । यस समूहको परिसूचक १.३६ प्रतिशतले घटेको छ ।

हिमालयन पावर पार्टनर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी एनआईबीएल समृद्धि फन्डको इकाई मूल्य पनि १० प्रतिशतले वृद्धि भएको छ ।रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ ।हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको १२ करोड ७८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १२ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू