बागलुङका ७७ मुहानको खानेपानीमा ‘कोलीफर्म’

बागलुङ – जिल्लाका ७७ मुहानको खानेपानीमा दिसामा पाइने जीवाणु ‘कोलीफर्म’ रहेको पाइएको छ।
जिल्लाका १० स्थानीय तहबाट दुई सय १३ खानेपानी मुहानको नमुना संकलन गरी पानी परीक्षण गर्दा ७७ मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।
हालैमात्र निसीखोला गाउँपालिका–६ भल्कोटमा झाडापाखला र टाइफाइड रोग फैलिएपछि खानेपानीको मुहान परीक्षण गर्दा कोलीफर्म भेट्टिएको कार्यालयले जनाएको हो।
स्वास्थ्य कार्यालयले एक महिनाअघि नसीखोला गाउँपालिका–६ मा वितरण गरिएको तीन वटा खानेपानीको मुहानको पानी परीक्षण गर्दा तिग्रापानीमा रहेको मुहानमा कोलीफर्म भेट्टिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन डिल्ली आचार्यले बताए। उनका अनुसार निसीखोलामा मात्रै सात स्थानका खानेपानी मुहानको नमुना परीक्षण गरिएको छ।
चालु आर्थिक वर्षमा दुई सय १३ खानेपानी मुहानको नमुना संकलन गरी परीक्षण गरिएकामध्ये ७७ खानेपानीको मुल तथा धारामा कोलीफर्मको मात्रा देखिएको आचार्यले बताए।
आचार्यका अनुसार बागलुङ बजारमा नगरखानेपानीले वितरण गर्दै आएको रेशखोला र भुदीखोलाको मुहान र धारो दुवैमा कोलिफर्म फेला परेको छ। यहाँका करिब ६० हजार नागरिकले उक्त पानी उपभोग गर्दै आएका छन्।
तपाइँको प्रतिक्रिया