आत्महत्याका घटना बढेकोप्रति गगन भन्छन्– युवालाई बाँच्ने आशा दिन नसक्ने राजनीतिको के अर्थ ?
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय आत्महत्याका घटना बढेकोप्रति चिन्ता व्यक्त गरेका छन् । मुलुकको आर्थिक, सामाजिक र राजनीति अवस्थाले पनि जनतामा निराशा छाएको भन्दै उनले आत्महत्या रोकथामको लागि ठोस कदम चाल्न आवश्यक रहेको बताएका छन् । अन्उथा थप क्षति हुने उनको भनाइ छ ।
नेपाली राजनीति र राजनीतिज्ञले समाजको आवश्यकता बुझ्न नसकेको उनले बताएका छन् । नेपाली राजनीतिले युवा आफ्नै मनसँग लडी रहँदा उनीहरूलाई सहारा दिन र बाँच्ने आशा दिन सक्दैन भने त्यो राजनीतिको के अर्थ ? उनले प्रश्न गरेका छन् ।
मानसिक स्वास्थ्य सम्बन्धी चेतना, परामर्श र उपचार सामान्य व्यक्तिको पहुँच पुग्ने संयन्त्र निर्माण गर्नुपर्ने उनको धारणा छ ।“एक पछि अर्को प्रतिभाले आफ्नो जीवन अन्त्य गरेको देख्दा मन कुँडिएको छ । सामाजिक सञ्जाल खोल्दै गर्दा एकजना अर्को कलाकारको त्यस्तै खालको अभिव्यक्ति देखेँ । एकदमै अत्यास लाग्यो,” गगन सामाजिक सञ्जालमा लेख्छन्, “आखिर हामी कहाँ चुक्यौँ ? हाम्रो समाज कहाँ चुक्यो ? किन हरेक वर्ष आत्महत्या गर्नेहरूको संख्या बढिरहेको छ ? हामीले यतिका वर्षदेखि कसका लागि संघर्ष गर्यौँ ? हामीले गरेको राजनीतिले, युवाहरू आफ्नै मनसँग लडी रहँदा उनीहरूलाई सहारा दिन सक्दैन भने, युवाहरूलाई बाँच्ने आशा दिन सक्दैन त्यो राजनीतिको के अर्थ ?”
तपाइँको प्रतिक्रिया