चितवन – भरतपुर महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । शैक्षिक सत्र २०८० मा महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालय तथा सामुदायिक क्याम्पसमा कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीले आवेदन दिन सक्ने जनाएको हो ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आज (शुक्रबार) एक सुचना जारी गर्दै १५ दिनभित्र अर्थात आगामी साउन ५ गतेभत्रि आवश्यक कागजातसहित भरतपुर महानगरपालिकाको वेबसाईटमा गई आवेदन भर्ने व्यवस्था मिलाईएको छ ।


आवेदनका लागि एसइइको ग्रेड सिट, अपाङ्ता भएको विद्यार्थीको हकमा अपाङ्ता परिचयपत्र, आदिवासी, जनजाति र दलित विद्यार्थीको हकमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात, सहिदका सन्तति, जनआन्दोलनका घाइतेका सन्तति र मधेस आन्दोलनका घाइतेका सन्ततिको जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात पेश गर्नुपर्ने छ । त्यसैगरी गरिव तथा विपन्न कोटामा आवेदन दिन चाहने विद्यार्थीले महानगरको वेबसाइटमा राखिएको गरिव तथा विपन्न सिफारिस पेश गर्नुपर्ने छ ।
गतवर्ष महानगरपालिकाले कक्षा ११ मा पढ्ने २७४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो । महानगरपालिकाले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई शिक्षा ऐन तथा भरतपुर महानगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छनोट गर्ने छ ।