जमिनमुनिको पानी संरक्षण गर्न कृत्रिम सिमसार बनाउँदै गैँडाकोट

एटुजेड समाचार

नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले वन तथा वातावरण संरक्षण गर्दै जमिनमुनिको पानी पुनःभरण गर्ने नीति लिएको छ । नगरप्रमुख मदनभक्त अधिकारीले नवलपुरको भूमिगत पानीसँगै जलाधार क्षेत्रका रूपमा रहेको नारायणी नदीसँगै अन्य खोलानाला संरक्षण एवं वन तथा वातावरण संरक्षण तथा विपद् व्यवस्थापनलाई विशेष ध्यान दिएको बताए ।

“जमिनमुनिको पानी पुनःभरणका लागि नगरपालिकाको वडा नम्बर १ देखि १७ सम्म उत्तरी क्षेत्रको पहाडका उपयुक्त ठाउँमा सिमसार क्षेत्र निर्माण गर्न माथिल्लो सरकारसँग सहकार्य गर्दै अघि बढ्ने गरी हामीले नीति बनाएका छौँ,” उनले भने, “त्यस्तै, नारायणी नदीलाई स्वच्छ तथा निर्मल बनाउने, नगर क्षेत्रको फोहरमैला प्रशोधन तथा अध्ययन केन्द्र निर्माण गर्ने, स्वच्छ र हराभरा गैँडाकोट लगायत विभिन्न काम गरिने भएको छ ।”

स्थानीयस्तरमा सामुदायिक वनसँग साझेदारी गर्दै उत्पादनमूलक जडीबुटी तथा फलफूल खेतीलाई अगाडि बढाइ आयआर्जन र रोजगारी वृद्धिमा जोड दिइने जनाइएको छ ।

विपद्का बेला आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि नगरपालिकासँग अग्नि नियन्त्रणका लागि बारुण यन्त्र नभएकाले जिल्लाकै देवचुली नगरपालिकासँग सहकार्य गरेर बारुण यन्त्र खरिद गर्ने तयारी गरिएको छ । दिसाजन्य लेदो व्यवस्थापनका लागि उपयुक्त स्थान पहिचान गरी संरचना निर्माण गरिने भएको छ ।

कृषि तथा सहरी क्षेत्रबाट निस्कने फोहरजन्य वस्तुबाट बायोग्यास तथा प्राङ्गारिक मल उत्पादन गरी प्रयोग गर्न नगरवासीलाई प्रोत्साहन गर्ने नगरपालिकाको नीति रहेको छ ।

“वातावरण संरक्षणका लागि १८ वटै वडा समितिमार्फत टोल विकास संस्थालाई सिर्जनशील काममा जोड दिइ ‘स्वच्छ र हराभरा गैँडाकोट’ र ‘हाम्रो टोल हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ नयाँ कार्यक्रम सञ्चालन गर्दैछौँ”, नगरप्रमुख अधिकारीले भने, “स्थानीयस्तरमा सामुदायिक वनसँगको साझेदारीमा उत्पादनमूलक जडीबुटी तथा फलफूलको खेती कार्यलाई अगाडि बढाउँदै रोजगारी वृद्धि गर्ने नीति लिएका छौँ ।” नगरपालिकाले वन तथा वातावरण संरक्षणसँगै पूर्वाधार तथा भौतिक बिकासतर्फ नगरको सहरीकरणलाई व्यवस्थित गर्दै जोखिम न्यूनीकरणमा ध्यान दिएको उनको भनाइ थियो । ‘एक घर : एक बिरुवा’ हरित सडक कार्यक्रमको नीतिसमेत नगरपालिकाले अवलम्बन गरेको भन्दै नगरप्रमुख अधिकारीले नगरभित्रका पूर्वाधारमा ढल निकासका लागि नाला, ढलनिकास, इन्टरनेट, स्वास्थ्य, पार्किङ, बसपार्क जस्ता सुविधाको विस्तारमा प्राथमिकता दिइने बताए ।

नगरको प्रवेश नाकामा सिसिटिभी क्यामेरा जडान, आवश्यकताका आधारमा विभिन्न स्थानमा निःशुल्क वाइफाइ, आधारभूत तहदेखि नै कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी अध्ययन गर्न पाउने अवसरको सुनिश्चितता गरिने भएको छ ।

उज्यालो सडक कार्यक्रमअन्तरगत अस्पताल, विद्यालय धार्मिकस्थल, सडक र पर्यटकीय स्थल आदिमा विद्युतीय बत्ती जडान गरिने भएको छ । नगरले सञ्चार तथा सूचना प्रविधि क्षेत्र, सामाजिक विकाससम्बन्धी नीतिअन्तर्गत स्वास्थ्य क्षेत्र, बहुउद्देश्यीय पोषण क्षेत्रमा काम गर्ने नीति लिएको छ ।

“हामीले सबै नागरिकलाई स्वास्थ्य बीमा सबल स्वास्थ्य प्रणाली, ‘हरेकका घरमा खानेपानीका धारा : जनस्वास्थ्यमा लगानी नारा’ लिएर काम गर्ने तयारी गरेका छौँ” नगरप्रमुख अधिकारीले भने, “नगर अस्पताललाई स्तरोन्नति गर्दै गरिब, विपन्न वर्गका जनताको लागि निःशुल्क उपचार गर्न स्वास्थ्य कोष स्थापना गर्दैछौँ ।” नगरपालिकामा बालश्रम शून्य बनाउने, बालविवाह, यौनजन्य जघन्य अपराधबाट नगरलाई मुक्त बनाउने गरी काम अघि बढाइएको उनको भनाइ थियो ।

निःशुल्क शिक्षालाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि अध्ययन कार्यदल बनाई क्रमशः कार्यान्वयन गरिने र कक्षा ५ सम्म अभिभावकबाट बाध्यात्मक रुपमा लिइने आर्थिक सहयोगलाई आगामी आर्थिक वर्षबाट पूर्णरुपमा निषेध गरिने भएको छ ।

कृषिमा आधुनिकीकरणलाई जोड दिँदै एक वडा एक उत्पादन, माटो जाँच शिविर, पशुपालन, दूध उत्पादन बढाउने कार्यक्रम पनि नगरपालिकाको रहेको छ । रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू