चितवन – भरतपुर अस्पतालमा आङ खस्ने (पाठेघर खस्ने) समस्याको निःशुल्क शल्यक्रिया हुने भएको छ । असार २६ र २७ गते निःशुल्क शल्यक्रिया हुन लागेको हो । बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयको आयोजना र प्रदेश अस्पतालको सहयोगमा जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरी शल्यक्रिया गर्न लागिएको हो ।
निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठका अनुसार जिल्लाभित्र स्क्रिनिङ शिविर संचालन गरी पत्ता लागेका पाठेघर खस्ने समस्या भएका महिलाहरुको निःशुल्क शल्यक्रिया गरिने छ । पाठेघर खस्ने समस्या भएका महिलाहरुले शिविरबाट लाभ लिन सक्नेछन् ।निर्देशनालयले पाठेघर खसेका महिलाहरुको विवरण उपलब्ध गराउन स्थानीय तहलाई आग्रह गरेको छ । स्थानीय तहलाई प्रचारप्रसार गरी बिरामी ल्याउने र समन्वय गरी शल्यक्रियामा सहजीकरण गर्न समेत निर्देशनालयले अनुरोध गरेको छ ।