काठमाडौँ– ललिता निवास जग्गा प्रकरणमा हिरासतमा रहेका मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले पेश गरेको बन्दीप्रत्यक्षीकरण मुद्दाको रिट आज पनि हेर्न नमिल्नेमा परेको छ ।
न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाइको पेसी तोकिएको उक्त रिट हेर्न नमिल्नेमा परेको हो ।



आफूहरूलाई गैरकानूनी रुपमा पक्राउ गरिएको दाबीसहित हदम्याद कटिसकेको मुद्दामा आफूहरूलाई पक्राउ गरिएको प्रश्न उठाएर उनीहरूले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका थिए ।
न्यायाधीश रेग्मी ललिता निवासको जग्गा प्रकणमा मुछिएकाले उनी संलग्न इजलासले यो मुद्दा हेर्न नमिल्ने भएको हो। यसअघि गत मंगलबार पनि यो मुद्दा हेर्न नभ्याइनेमा परेको थियो।
आफूहरुलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित दर्ता गरेको रिटमा गत शुक्रबार सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको थियो ।
यसअघि ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका ९ जनालाई संगठित अपराधमा अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो ।