भरतपुर – भरतपुर महानगरपालिकाले बुधबार भरतपुर २३ लाई तेस्रो बालमैत्री वडाको रुपमा घोषणा गरेको छ । आशा अनाथालय नेपालको आर्थिक सहयोगमा वडा नं २३ लाई बालमैत्री वडाको रुपमा घोषणा गरिएको हो ।महानगरले आगामी चार वर्ष भित्र सिङ्गो महानगरपालिकालाई बालमैत्री महानगरको रुपमा घोषणा गर्ने लक्ष्य लिएको छ ।
आर्थिक वर्ष २०८३/०८४ सम्ममा महानगरका २९ वटै वडालाई बालमैत्री बनाउने गरि महानगरपालिका तयारीमा जुटिसकेको छ । यसका लागि महानगरपालिकाले २६ बुँदे घोषणापत्र समेत जारी गरिसकेको छ।कार्यक्रमका प्रमुख अतिथि तथा स्थानीय बाल अधिकार समितिका संयोजक समेत रहेका नगर उप प्रमुख चित्रसेन अधिकारीले वडा नं २३ लाई तेस्रो बालमैत्री वडाको रुपमा घोषणा गरेका हुन् । भरतपुर महानगरपालिकाले एक दुई वटा वडालाई बालमैत्री वडाको रुपमा घोषणा गरिरहेको छ अब छिट्टै नै २९ वटै वडालाई बालमैत्री वडाको रुपमा घोषणा गर्ने गरि महानगर अगाडि बढेको छ अधिकारीले बताए । हामी हाम्रो महानगरलाई सुन्दर, शान्त, भयरहित साथै बालमैत्री महानगरको रुपमा हेर्न चाहान्छौं उनले बताए ।



सबै जनप्रतिनिधि र आम नागरिकले यस अभियानलाई आफ्नै सोचेर काम नगरे सम्म अभियानले पूर्णता नपाउने वडा नं २३ का अध्यक्ष दीपक दवाडीले बताए । वडा नं २३ मा हाल दुई हजार ५ सय ५६ जना बालबालिकाहरु रहेका छन् ।
यसैबीच भरतपुर महानगरपालिकाले असार २२ गते शुक्रबार एभरेस्ट लनिङ्ग एकेडेमीको आर्थिक सहयोगमा वडा न २१ लाई पनि बालमैत्री वडाको रुपमा घोषणा गर्ने तयारी गरेको छ ।