चितवन गोल्डकपको समापन गर्न गृहमन्त्री श्रेष्ठ आउने

चितवन – छैठौं चितवन च्याम्पियनसिपको समापन समारोहमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आउने भएका छन् । भोलि बुधबार हुने च्याम्पियनसिपको समापन गर्न गृहमन्त्री श्रेष्ठ आउने भएका छन् ।
फाइनल खेलको प्रमुख अतिथिको रुपमा गृहमन्त्री आउने पक्का भएको प्रतियोगिता संयोजक एवं आयोजक एभरेष्ट क्लब चितवनका निवर्तमान अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । फाइनल खेल दिउँसो ३:३० बजे हुनेछ । त्यस अघि ३ बजे समापन समारोह हुने देवकोटाले बताए ।
नेपाल प्रहरी शिक्षालयको मैदान भरतपुरमा जारी प्रतियोगिताको उपाधिका लागि बुधबार गैंडाकोट फुटबल क्लब र सूर्यपुर फुटबल क्लब भिड्नेछन् । गैंडाकोट रड्स रामपुर तथा सूर्यपुर आयोजक एभरेष्ट क्लबलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।
विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले पाँच हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले समान १०-१० हजार रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष प्रेमबहादुर गुरुङ गोपालले जानकारी दिए । उनका अनुसार फाइनल खेलमा दर्शकका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।
तपाइँको प्रतिक्रिया