अहिले कुनैपनि पार्टीसँग एकताको सम्भावना छैन : नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले कुनैपनि पार्टीसँग एकताको सम्भावना नभएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले एकीकृत समाजवादीलाई बलियो बनाउन चाहने धारणा राखेका हुन्।
उनले आफूहरुले दक्षिणन्थी धार छाडेर क्रान्तिकारी धार रोजेको बताए। उनले आफूहरु समाजवादको दिशामा अगाडि बढ्ने वातावरणमा जुटिरहेको बताए।
उनले भने,‘भर्खरै हामीले समाजवादी मोर्चा बनाइएका छौं। मोर्चामा कम्युनिष्ट मात्र नभई गैर कम्युनिष्ट पार्टीहरु समेत रहेका छन्। गैरकम्युनिष्ट जनता समाजवादी पनि समावेश छ।’
उनले लक्ष्य राखेर अगाडि बढ्दा सफल हुने धारणा राखे। समाजवादप्रति आकर्षण बढिरहेको उनको भनाई छ। उनले भने,‘केन्द्र र प्रदेश सरकारमा मन्त्री बनाएका छौं । उनीहरुले काम राम्रो गर्नुपर्छ।’
उनले कोशी प्रदेशमा एमालेको सरकार ढलेकाले चाँडै बन्ने नयाँ सरकारमा एकीकृत समाजवादी सहभागी हुने बताए। उनले कसैलाई निषेध र एक्लो बनाउन नचाहने धारणा राखे। नेपालले भने,‘हामी एकताबद्ध भएर अगाडि बढ्छौं। संविधानमा विमति राख्नेसँग त हातेमालो गरेर अगाडि बढिरहेका छौं भने संविधान मान्नेसँग सँगै हिड्न गाह्रो छैन।’
तपाइँको प्रतिक्रिया