काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं महानगर भित्रका सहकारी संस्थालाई ३० दिनभित्र संस्थाको विवरण पेस गर्न निर्देशन दिएका छन् ।
मेयर साहले आज सामाजिक सञ्जालमा महानगरपालिकाको सहकारी विभागले जारी गरेको सूचना राख्दै सहकारीहरुको साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गर्दै ३० दिनभित्र पेश गर्न निर्देशन दिएका हुन् ।
पछिल्लो समय सहकारीमा आर्थिक संकट सिर्जना भएको तथा चरम अनियमिताको खबर सार्वजनिक भइरहेका बेला महानगरले सो सूचना जारी गरेको हो ।
सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।
यसबारे मेयर शाहले आफ्नो आधिकारिक फेसबुक पेजबाट पनि जानकारी दिएका छन्। उनले बित्तिय जोखिमबाट बचौँ, सहकारीहरुलाई संकटग्रस्त हुनबाट बचाऔँ भन्दै लामो स्टाटस समेत राखेका छन्।