भरतपुरको नीति तथा कार्यक्रम : “भरतपुर भ्रमण वर्ष, २०२४” मा २ लाख पर्यटक भित्र्याईने
चितनव – भरतपुर महानगरपालिकाले “भरतपुर भ्रमण वर्ष, २०२४” मा २ लाख पर्यटक भित्र्याईने लक्ष्य लिएको छ ।
तेह्रौँ नगरसभामा महानगरपालिका प्रमुख रेनु दाहालद्धारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा “भरतपुर भ्रमण वर्ष, २०२४” मा २ लाख पर्यटक भित्र्याईने लक्ष्य लिएको उल्लेख गरिएको छ ।
“भरतपुर भ्रमण वर्ष, २०२४” लाई भरतपुर महानगरले निजी, सामाजिक, सामुदायिक, गैर सरकारी क्षेत्र लगायत महानगरका सम्पूर्ण सरोकारवाला पक्षहरूको सहभागितामा उत्सवका रुपमा मनाउने नीति तथा कार्यक्रममा जनाईएको छ ।
वर्षैभरि पर्यटन प्रवर्धन अभियानका रुपमा अगाडि बढाई पर्यापर्यटन, साँस्कृतिक पर्यटन, साहसिक पर्यटन, धार्मिक पर्यटन, जल पर्यटन, माइस पर्यटन, कृषि पर्यटन, विकास पर्यटन, स्वास्थ्य पर्यटन, सहकारी पर्यटन, खेल पर्यटन र शैक्षिक पर्यटनका मध्यमबाट विदेशी २ लाख पर्यटक भित्र्याइने नीति लिएको छ ।
भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन निजी तथा साझेदार संघ संस्था, प्रदेश सरकार एंव संघीय सरकारसँग समन्वय तथा सहकार्य गरिनेछ ।पर्यटन क्षेत्रको विकास र विस्तारको लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन गुरुयोजना तर्जुमा गरी वार्षिक कार्यक्रममा समावेश एवम् कार्यान्वयन गरिनेछ ।
भरतपुर (चितवन) – पोखरा (कास्की) – लुम्बिनी (रुपन्देहरी) स्वर्ण त्रिकोण पर्यटन प्रवर्धन कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयन गरिनेछ ।
महानगरपालिकाले पहिचान गरेका ३० वटा प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रवर्धन तथा विकास गरिनेछ ।पर्यटन सूचना नक्सा तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।स्थानीय उपभोक्ताहरूको साझेदारीमा चौकीडाँडालाई हिल स्टेसनको रुपमा विकास गरिनेछ ।
भरतपुर भ्रमण वर्ष, २०२४ सन्दर्भमा नारायणी नदी किनारमा पर्यटकीय स्तम्भ निर्माण गरिनेछ। भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन महानगरका मुख्य प्रवेश मार्गमा स्थानीय कला र संस्कृति झल्कने गरी प्रवेश द्वार निर्माण गर्नुका साथै पर्यटकीय स्थलहरूको सौन्दर्यीकरण गर्ने जनाएको छ ।
आदिवासी जनजाति, पिछडा वर्ग आदिको भाषा, लिपि, बाजागाजा, रीतिरिवाज परम्परा संस्कृति आदिको संरक्षण गर्ने नीतिलाई निरन्तरता दिइनेछ।विभिन्न जाति जनजातिको पहिचान झल्किने साँस्कृतिक महोत्सव आयोजना गरिनेछ ।
महानगरपालिकाको साँस्कृतिक सम्पदा सूचीहरूको सर्भेक्षण गरी महत्वपूर्ण सम्पदा स्थलहरूको संरक्षण गुरुयोजना तयार गरिनेछ।महानगरका परम्परागत रैथाने संस्कृतिहरू, सम्पदा र उत्पादनहरूलाई बजारीकरण गर्न आवश्यक कार्यक्रमहरू अगाडि बढाउने भएको छ ।
पर्यटन सम्बन्धी सम्पूर्ण कार्यक्रमलाई व्यवस्थित गर्न पर्यटन कार्यविधि बनाई कार्यक्रमहरू सञ्चालन गरिनेछ।
तपाइँको प्रतिक्रिया