अभिषेक चर्चलाई हराउँदै रामपुर चितवन च्याम्पियनसिपको सेमिफाइनलमा
चितवन – रड्स रामपुर छैठौं चितवन च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (शनिबार) भएको पहिलो क्वाटरफाइनल खेलमा अभिषेक चर्च रजहरलाई ४-१ ले पराजित गर्दै रामपुरले सेमिफाइनलमा स्थान बनाएको हो । रामपुरको जितमा शन्तबहादुर गुरुङले दुई गोल गरे । यस्तै आशिष गुरुङ र योमीले एक-एक गोल गरे । अभिषेक चर्चका संयोग महर्जनले एक गोल फर्काए ।
खेलको २८ औं मिनेटमा शन्तको गोलमा रामपुरले सुरुवाती अग्रता लियो । ६१ औं मिनेटमा आशिषले गोल गर्दै रामपुरलाई दोहोरो अग्रता दिलाए । ७४ औं मिनेटमा शन्तले व्यक्तिगत दोस्रो गोल गरेपछि रामपुरले अग्रता लम्बायो । ८२ औं मिनेटमा अभिषेक चर्चका संजोगले एक गोल फर्काए । ८२ औं मिनेटमा योमीले गोल गरेपछि रामपुर ४-१ ले विजयी भयो । दुई गोल गरेका रामपुरका शन्त म्यान अफ दि म्याच भए ।
च्याम्पियनसिपमा आइतबार दोस्रो क्वाटरफाइनल खेल हुनेछ । दिउँसो ४:३० बजे हुने खेलमा स्टार स्पोर्ट्स क्लब बरुवा माडी र सूर्यपुर फुटबल क्लब कालिका भिड्नेछन् ।
असार १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले पाँच हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले समान १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
तपाइँको प्रतिक्रिया