भैरहवा – विप्लव माओवादीले सिद्धार्थनगर नगरपालिका वडा ५ मिलनचोक निवासी मिटरब्याजी रमानन्द बानियाँको घर कब्जा गरेको छ । मिटरब्याजको नाममा अकुत सम्पती आर्जन गरेको भन्दै माओवादीले बानियाँको घर कब्जा गरेको हो ।
मिटरब्याजी बानियाँले रुपन्देहीका झण्डै डेढ सय भन्दा बढी किसानहरुलाई न्युनतम ७५ हजार देखि १० लाखसम्म ऋण दिएर कपालीतमसुक, दृष्टिबन्दक जस्ता क्रियाकलाप गरेर किसानका करोडौं रकम ब्याजका नाममा ठगेको बुझिएको छ ।
बानियाँले झण्डै ७६ जना किसानहरुलाई ऋण दिदा ५० प्रतिशत बढी ब्याज समेत लगाएको विवरणमा देखिन्छ ।
भैरहवा, लुम्बिनी सांस्कृतिक र तिलोतमा नगरपालिका आसपासमा दर्जनौं किसान तथा साना व्यापारीलाई ऋण दिने बाहनामा मिटर ब्याज मार्फत करोडौं असुलेको पाइएको छ । बानियाँको ठगी धन्दाका बारेमा झण्डै ६२ जनाले जिल्ला प्रशासन कार्यलयमा उजुरी दिएका छन् ।
२०७४ सालबाट पटकपटक उजुरी दिएपनि प्रशासनले वेवास्ता गरेपछि पीडित ऋणिहरुले विप्लव नेतृत्वको माओवादीमा लिखित उजुरी दिएका थिए । नेकपामा उजुरी परेपछि पार्टीले पीडितहरुसंग भएका प्रमाण र अनुसन्धानले बानियाँले किसानसंग करोडौं ब्याज मिटर व्याज मार्फत असुली पाइएको सो पार्टीले जनाएको छ ।
सो पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज सरद सी, जिल्ला सेक्रेटरी बिरेन्द्र सी, जिल्ला सचिवालय सदस्य शिशिर सी लगायतका नेताहरु सहभागी भएर सो पार्टीले बानियाँको घर कब्जा गरेको घोषणा गर्दै व्यानर टासेका छन् ।

