चितवन – आयोजक एभरेष्ट क्लब चितवन छैठौं चितवन च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज (शुक्रबार) भएको खेलमा एभरेष्टले त्रिवेणी युवा क्लब मुग्लिनलाई २-० ले पराजित गर्दै एभरेष्टले क्वाटरफाइनलमा स्थान बनाएको हो । एभरेष्टको जितमा दुबै गोल समीप ढकालले गरे ।
नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलको २१ औं मिनेटमा समीपले गोल गर्दै एभरेष्टलाई अग्रता दिलाएका थिए । उनले कप्तान आशिष क्षेत्रीको एसिस्टमा गोल गरे । ८० औं मिनेटमा उनले वान भर्सेज वानमा व्यक्तिगत दोस्रो गोल गर्दै एभरेष्टको जित निश्चित गरे । उनी नै म्यान अफ दि म्याच चुनिए ।
एभरेष्ट क्लब चितवनको आयोजनामा जारी च्याम्पियनसिपमा शनिबार अभिषेक चर्च रजहर र रड्स रामपुर भिड्नेछ । खेल दिउँसो ४:३० बजे हुनेछ । असार १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले पाँच हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले समान १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।