गोरखा – गोरखाको सहिद लखन गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ज्यान गएका पाँचैजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।
दुर्घटनामा परी सहिद लखन गाउँपालिका–५ का १९ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा र १७ वर्षीया नविना थापा तथा सहिद लखन–४ का ६४ वर्षीय थनबहादुर थापाको मृत्यु भएको घटनास्थलमा रहेका गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।
उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन् । उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको डिएसपी लामिछानेले बताए । उनीहरुलाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको छ । अन्य घाइतेको आँबुखैरेनीमा उपचार भइरहेको छ ।
सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप बिहीबार राति दुर्घटनामा परेको हो । घटना लगत्तै डिएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली गएको थियो । जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको बताइएको छ ।