मेलम्चीमा ‘बेलिब्रिज’ जडान गर्न सुरु

एटुजेड समाचार

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको तीन पालिका मेलम्ची, पाँचपोखरी र इन्द्रावती जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ निर्माण कार्य सुरु भएको छ । नेपाली सेनाको सहयोगमा ‘बेलिब्रिज’ जडान कार्य सुरु गरिएको हो ।आजदेखि सेटिङ आउटको काम सुरु भएको नेपाली सेनाको इञ्जिनियरिङ विभाग, १४ नं बाहिनी अड्डाका सेनानी चिरञ्जीवी चौलागाईंले जानकारी दिए ।

निर्वाचनका समयमा जेठ मसान्तभित्र बेलिब्रिज निर्माण गर्ने प्रतिबद्धताअनुसार केही समय ढिलो गरेर बेलिब्रिज जडान सुरु गरिएको यस कार्यमा समन्वय गरिरहेका नेपाली कांगे्रसका मेलम्ची नगर उपसभापति रामशरण गिरीले जानकारी दिए ।वर्षायाममा यहाँका नागरिकलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले अबको करिब दुई साता जतिमा जडान सम्पन्न गरिने सेनाले जनाएको छ ।

मेलम्चीपारिको वडा नं ९ र १० तथा पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका जोड्ने सो पुल निर्माण भएपछि त्यहाँका नागरिकले प्रत्यक्ष लाभ लिने छन् भने सदरमुकाम चौतारा जाने छोटो दूरीको ‘रुट’का रूपमा समेत यस सडक प्रयोग हुँदै आएको छ ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङको पहल र निरन्तर प्रयासपछि मेलम्ची खोलामा बेलिब्रिज निर्माण गर्नका लागि अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रक्षा मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।

विसं २०७८ असार १ गते आएको बाढीले पक्की पुल बगाउँदा यहाँका नागरिकले बर्खाको समयमा सास्ती खेप्दै आएका छन् । हिउँदको समयमा ह्युमपाइप राखेर सडक सञ्चालन गर्ने गरिएको भए पनि बर्खा लागेसँगै समस्या हुने गरेको छ ।यस स्थानमा पक्की पुलका लागि पनि प्रदेश सरकारबाट केही बजेट विनियोजन भएको मेलम्ची नगर प्रमुख आइतमान तामाङले जानकारी दिए ।रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू