पुङ्गी खोला संरक्षणमा भरतपुर महानगरको चासो

एटुजेड समाचार

चितवन – भरतपुर महानगरपालिका हुँदै बग्ने पुङ्गीखोला संरक्षणका लागि महानगरपालिकाले काम सुरु गरेको छ। वडा नं ११, २, ३ र ४ हुँदै बग्ने सो खोला संरक्षणका लागि महानगरपालिको पुङ्गीखोला सिमाङ्कन तथा संरक्षण समिति बनाएर काम सुरु गरेको हो। विसं २०२१ को नापी सर्वेभन्दा पहिलादेखि रहेको सो खोला अतिक्रमणमा परेसँगै महानगरले संरक्षणका लागि काम सुरु गरेको हो।

भरतपुर महानगरपालिका–३ का वडाध्यक्ष अध्यक्ष विकास थापाको संयोजकत्वमा समिति गठन गरेर कामलाई अघि बढाइएको हो। समितिका सदस्य सचिव विकास देवकोटाका अनुसार पुङ्गीखोला संरक्षणका लागि अहिले सिमाङ्कनको काम सुरु गरिएको छ। भरतपुर महानगरपालिका वडा नम्बर ३ र ४ मा सिमाङ्कनको काम सम्पन्न भइसकेको छ।

अहिले वडा नम्बर २ को सिमाङ्कनको काम सुरु गरिएको उनले जानकारी दिए। “दुई खोलाको सिमानाभित्र वडामा २० भौतिक संरचना बनेको पाइएको छ,” उनले भने। सिमाङ्कनका क्रममा कतिपय स्थानमा नक्शामासमेत नभेटिएको उनले जानकारी दिए। समितिका संयोजक वडाध्यक्ष थापाले सिमाङ्कनको काम सकिएपछि गुरुयोजना अनुसार काम अघि बढाइने छ।

भरतपुर महानगरपालिकाले दुई वर्षअघि तयार पारेको गुरुयोजना अनुसार काम सुरु गरिएको हो। नक्शाङ्कनको काम सकिएसँगै गुरुयोजनालाई परिमार्जन गरी कामलाई अघि बढाइने उनले बताए। भरतपुर महानगरपालिका–११ गणेशधामबाट सुरु हुने सो खोला ७ किलोमिटर तल भरतपुर महानगरपालिका वडा नं ४ रामघाटमा नारायणी नदीमा गएर मिसिएको छ।

खोलाको रेखाङ्कनको काम असार महिनाभित्र सम्पन्न गर्ने गरी अघि बढाइएको महानगरपालिकाले जनाएको छ। गुरुयोजना अनुसार महानगरले पुङ्गी खोलालाई पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना रहेको छ। तीन स्थानमा पार्क निर्माण, खोला किनारमा हरियाली, पैदल मार्ग, साइकल मार्ग लगायतका संरचना निर्माण गर्ने गरी गुरुयोजना तयार गरिएको थापाले बताए।

हाल अतिक्रमणमा परेको खोला कतै साँधुरो र नालीको रुपमा प्रयोग हुँदै आएको देखिन्छ। खोलालाई पहिलेको जस्तै स्वच्छ राख्नका लागि खोलामा मिसाइएका ढलको व्यवस्थापनसमेत गुरुयोजनामा राखिएको छ। भौतिक संरचना हटाइ यसलाई पुरानै अवस्थामा फर्काउने गरी काम गर्न लागिएको वडाध्यक्ष थापाले बताए।

उनले भने, “प्रमुख बजार क्षेत्र हुँदै बग्ने यो खोलाको अतिक्रमण हटाएर सुन्दर रुप दिन्छौंँ।” कानुनसम्मत काम अघि बढाइएको भन्दै उनले अतिक्रमित संरचना हटाउन समय दिने जानकारी दिए। उनले थपे, “समयमा संरचना नहटाए हामी आफैले हटाउँछौँ।”रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू