भरतपुर–१३ बालमैत्री घोषणा

एटुजेड समाचार

भरतपुर – चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१३ लाई बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गरिएको छ।

आवश्यक ५१ वटा सूचकहरु पुरा गरी वडालाई शुक्रबार बालमैत्री घोषणा गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यतामा बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गरिएको थियो ।

विस २०७६ सालमा भरतपुर–१४ लाई बालमैत्री वडा घोषणा गरिएको थियो । भरतपुरलाई बालमैत्री नगर बनाउन २०६८ सालदेखि नै अभियान थालिएको हो । आर्थिक वर्ष ०८३/०८४ मा महानगरपालिकालाई बालमैत्री महानगरपालिका घोषणा गर्ने लक्ष्य लिइएको छ ।

प्रमुख अतिथि महानगरपालिका प्रमुख दाहालले वडाका अध्यक्ष प्रकाश दवाडीलाई घोषणा प्रमाण–पत्र हस्तान्तरण गरेकी हुन् । सो अवसरमा नगर प्रमुख दाहालले सिङ्गो महानगरपालिकालाई बालमैत्री महानगरपालिका घोषणा गर्ने अभियान जारी रहेको उल्लेख गरिन् ।

भरतपुरमा बालबालिकाविरुद्ध हुने सबै खाले हिंसाहरु, यातनाहरु, भेदभाव, शोषणबाट मुक्त गराई सभ्य, सुन्दर र समृद्ध महानगर बनाउन प्रतिवद्ध रहेको बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा कायम राख्न सबै पक्षले विशेष चासो र चिन्ता लिनुपर्ने बताए।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बालमैत्री घोषणा गरेर यसलाई कायम राख्न सधै सबै पक्ष क्रियाशिल हुनुुपर्ने बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना, विभिन्न वडाध्यक्षहरु, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वडाका अध्यक्ष प्रकाश दवाडीको अध्यक्षमा सम्पन्न भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू