चार यारहरुले आर्थिक वर्ष २०८०/८१ को बजेट लुटे : सीके राउत

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याइएको नभइ लुटिएको बताएका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले बजेट बनाएर ल्याइएको नभइ लुटिएको बताएका हुन् । उनले बैंक लुटे जसरी चार यारहरुले बजेट लुटेको र अध्याँरो कोठामा गएर भागबण्डा गरेको बताए । सरकारले जुट्ने क्रम जारी रहेको उनको भनाई छ ।
‘बजेट ल्याएको हो कि बजेट लुटेको हो भन्ने कुरा स्पष्ट देखिँदैन । यसो हेर्दा बजेट लुटिएको हो जस्तो देखिन्छ । बजेट बनाएको, ल्याएको होइन । बजेट लुटेको हो जस्तो स्पष्ट देखिन्छ । जसरी बैंक लुट्दाखेरी चार यारहरुले बैंक लुटेर लग्छन् । त्यसरी बजेटलाई चार यारहरुले लुटेर गएका जस्ता देखिन्छन् । बाटोमा लाँदै गर्दा कतै खुद्रा पैसाहरु खस्दै गएको देखिन्छ । चार यारहरु मिलेर, अध्याँरोमा गएर बाँडफाँट गरेको जस्तो स्पष्ट रुपमा देखिन्छ’ उनले भने, ‘स्वभाविक हो । यो सरकारले लुट्ने क्रम जारी नै राखेको छ । वैशाखमा बारामा मत पेटिका लुटे । जेठमा आएर बजेट लुट्ने काम सरकारले गर्दै आएको छ । लुट्ने प्रवृत्तिको क्रमिक रुपमा जारी नै छ ।’
अध्यक्ष राउतले बजेटको सम्बन्धमा दिइएका कुनै पनि सुझावहरु कार्यान्वयन नहुने गरेको पनि बताए । उनले एक महिना बहस हुँदा पनि बजेटमा कमा र फुलस्टप समेत परिवर्तन नहुने गरेको भन्दै यसो हुनु संसद र सांसदहरुको निरिहता भएको बताए ।
तपाइँको प्रतिक्रिया