कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री प्रकाशशरण महतले स्थानीय उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर लगाइएको बताएका छन्।
बिहीबार सिंहदरबारमा नेपाल कृषि मेसिनरी व्यवसायी संघ, कृषक संघलगायत कृषकसँगको सामूहिक भेटका क्रममा अर्थमन्त्री महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण गर्ने र कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा कर लगाइएको बताए।
उनले कर कारण स्वदेशी उत्पादनमा नभई आयातित बस्तुमात्रै महँगो हुने र स्थानीय उत्पादनलाई असर नपर्ने जिकिर गरे। अर्थमन्त्री महतले करको दर लागू नहुँदै सुनियोजित रूपमा केही संगठित व्यक्तिले मूल्यबृद्धि गरेको बताए। उनले उत्पादनका आधारमा अनुदान दिने, गुरु किसान कार्यक्रमलगायतका विषयलाई बजेटले प्राथमिकतामा राखिएको जानकारी दिए।
भेट क्रममा प्रतिनिधिले आन्तरिक उत्पादनको संरक्षणको लागि सरकारको कदम स्वागतयोग्य भएको भन्दै यस क्षेत्रमा देखिएका समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका थिए।
तपाइँको प्रतिक्रिया