नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले निष्पक्ष छानविन गरिरहेकाले निर्दोषलाई आतङ्कित नहुन आग्रह गर्नुभएको छ ।
राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकमा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा कानूनी प्रक्रियामा रहेर नेपाल प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभयो ।
उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी प्रकरणमा दोषीलाई कुनै हालतमा नछोडिने र त्यस कार्यमा सरकार सफल हुँदै गएको पनि स्पष्ट पार्नुभयो ।
आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेजी गर्ने प्रस्ताव कार्यान्वयन नहुने बताउनुहुँदै गृहमन्त्री श्रेष्ठले जिल्ला निर्वाचन कार्यालय यथावत् रहने सरकारको दृष्टिकोण प्रस्तुत गर्नुभयो
उहाँले मुलुकको शान्ति सुरक्षालाई चुस्तदुरुस्त राख्न तीनवटै सुरक्षा निकाय चनाखो अवस्थामा रहेको भन्नुहुँदै राष्ट्रिय सुरक्षा नीति अध्ययन र परामर्श गरी सार्वजनिक गरिने बताउनुभयो ।
त्यसैगरी गृहसचिव दिनेश भट्टराईले मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकिएको बैठकमा जानकारी गराउनुभयो ।
समितिको बैठकमा सांसदहरुले बजेटमा राष्ट्रिय सुरक्षा नीति तत्काल सार्वजनिक गरिनुपर्ने, भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गरिनुपर्ने लगायतमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
समितिको बैठकले अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा प्रस्तुत गर्नुभएको जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्ताव पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ ।
तपाइँको प्रतिक्रिया