अन्तर विद्यालय फुटबलमा आदर्श पब्लिक र स्काई राइडर विजयी

भरतपुर – हानामी अन्तर विद्यालय फुटबलमा आदर्श पब्लिक स्कुल र स्काई राइडर विजयी भएका छन् ।
भरतपुर १० स्थित गेस्ट हाउस चौरमा भएको आजको पहिलो खेलमा आदर्श पब्लिक स्कुलले उषा बोर्डिङलाई पराजित गर्यो । आदर्शले उषाविरुद्ध कमब्याक जित निकालेको हो । आदर्शको जितमा किरण देउजा, विवश दराई र दर्शिल खड्काले गोल गरे । उषाका अनिष खड्काले एक गोल गरे ।
खेलमा अग्रता भने उषाले लिएको थियो । पहिलो हाफको अतिरिक्त समयमा अनिषले गोल गर्दै उषालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा आदर्शले गोल गर्न सकेन ।
दोस्रो हाफको १२ औं मिनेटमा किरणले आदर्शका लागि बराबरी गोल फर्काए । लगत्तै १५ औं मिनेटमा विवशले गोल गर्दै आदर्शलाई अग्रता दिलाए । १८ औं मिनेटमा दर्शिलले गोल गरेपछि आदर्शले ३-१ को जित निश्चित गर्यो । दर्शिल नै म्यान अफ दि म्याच चुनिए ।
आजको दोस्रो खेलमा स्काई राइडरले नारायणी विद्या मन्दिरलाई २-० ले पाखा लगायो। स्काई राइडरको जितमा दुबै गोल यमन चौधरीले गरे । उनले पहिलो र दोस्रो हाफमा एक-एक गोल गरे ।
यमनले खेलको चौथो मिनेटमा गोल गर्दै स्काई राइडरलाई अग्रता दिलाए । दोस्रो हाफको १६ औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गरेपछि स्काई राइडर २-० ले विजयी भयो । यमन नै म्यान अफ दि म्याच भए ।
प्रतियोगिता अन्तर्गत शुक्रबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा दिउँसो ४ बजे अर्बिट स्कुल र सनराइज स्कुल भिड्नेछन् । यस्तै दोस्रो खेलमा अपरान्ह ५ बजे डन एकेडेमी र जनप्रिय स्कुल भिड्नेछन् ।
भरतपुर फुटबल क्लब र यात्रा ग्रुपको आयोजनामा जारी प्रतियोगितामा २१ वटा संस्थागत विद्यालयहरु सहभागी छन् । असार २ गतेसम्म हुने प्रतियोगिताको विजेताले २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले दश हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।
तपाइँको प्रतिक्रिया