काठमाडौं – सरकारले आर्थिक विधेयक, २०८० मार्फत मदिरा र सुर्तीजन्य वस्तुको उत्पादक, वितरक तथा बिक्रेताको इजाजतपत्र (लाइसेन्स) र नवीकरण दस्तुर बढाएको छ ।आर्थिक विधेयकमार्फत अन्तःशुल्क नियमावली, २०७९ मा भएको संशोधन तथा परिमार्जनबारे आन्तरिक राजस्व विभागले शुक्रबार सार्वजनिक गरेको विवरणानुसार स्प्रिट, बियर, इथानोल र अन्य मदिरा उत्पादन गर्ने प्रतिष्ठानको लाइसेन्स र नवीकरण दस्तुर ५५ हजार रुपैयाँले बढाइएको हो ।
यस्तो शुल्क यसअघि एक लाख ९५ हजारबराबर रहेकामा त्यसलाई बढाएर दुई लाख ५० हजार रुपैयाँ पुर्याइएको छ ।वाइन, ब्रान्डीजस्ता फलफूलमा आधारित मदिरा बनाउने प्रतिष्ठानको लाइसेन्स र नवीकरण शुल्क चार हजारले बढाएर एक लाख रुपैयाँ पुर्याइएको छ ।चुरोट उत्पादन गर्ने प्रतिष्ठानलाई दुई लाख ४० हजार इजाजत तथा नवीकरण दस्तुर लाग्दै आएकामा त्यस्तो शुल्क तीन लाख रुपैयाँ पुर्याइएको छ ।
मदिरा बिक्रीवितरणका लागि होटेल, रेस्टुराँ, रिसोर्ट, बारले लिने इजाजत तथा नवीकरण दस्तुर पनि बढाइएको छ । यस्तो शुल्क यसअघि पाँचतारे होटेललाई ६० हजार रहेकामा ७५ हजार, चारतारे होटेललाई ४८ हजार रहेकामा ६० हजार र तीनतारे होटेललाई ३६ हजार रहेकामा ४५ हजार रुपैयाँ बनाइएको छ । दुईतारेलाई २४ हजार रहेकामा ३० हजार र एकतारेलाई १२ हजार रहेकामा १५ हजार रुपैयाँ पुर्याइएको छ ।
स्वदेशी तथा विदेशी मदिरा बेच्ने पर्यटकस्तरको रेस्टुरेन्ट, रिसोर्ट तथा पार्टी प्यालेसले इजाजत तथा नवीकरणका लागि आठ हजार ५०० तिर्दै आएका थिए । अहिले त्यसलाई बढाएर ११ हजार रुपैयाँ पुर्याइएको छ । साधारण होटेल, रेस्टुरेन्ट, बार तथा लजका लागि चार हजार ५०० बराबर शुल्क रहेकामा ६ हजार पुर्याइएको छ ।
मदिरा वितरकलाई यस्तो शुल्क ३६ हजारबराबर रहेकामा बढाएर ४५ हजार पुर्याइएको छ । मदिराको थोक बिक्रेतालाई २४ हजार दस्तुर लाग्ने गरेकामा ३० हजार रुपैयाँ पुर्याइएको छ ।मदिरा बिक्री गर्ने खुद्रा बिक्रेताको इजाजत लिन तथा त्यस्तो इजाजत नवीकरण गर्दा लाग्ने शुल्क पनि बढाइएको छ । यस्तो इजाजत तथा नवीकरणका लागि १२ हजार शुल्क लाग्ने गरेकामा अब १५ हजार रुपैयाँ शुल्क लाग्नेछ ।
यस्तै, डिपार्टमेन्टल स्टोरले २४ हजार शुल्क तिर्दै आएकामा ३० हजार तिर्नुपर्नेछ । विदेशी मदिरा तथा स्प्रिट आयातकर्ताको अनुमति लिन तथा त्यस्तो अनुमतिपत्रको नवीकरणका लागि ४८ हजार शुल्क लाग्दै आएकामा ६० हजार पुर्याइएको छ ।विदेशी चुरोट तथा सिगार, सुर्तीजन्य पदार्थ आयातकर्तालाई ४८ हजार बराबर शुल्क लाग्दै आएको थियो । त्यसलाई बढाएर ६० हजार तोकिएको छ ।
त्यस्तै, पान मसला, चुरोट, खैनी, जर्दा, नश, तथा सुर्तीजन्य वस्तुका थोक बिक्रेताको लाइसेन्स तथा नवीकरणका लागि सात हजार २०० लाग्दै आएकामा अब १२ हजार शुल्क लाग्नेछ । यस्ता वस्तुको खुद्रा बिक्रेताका लागि दुई हजार शुल्क लाग्दै आएकामा अब तीन हजार लाग्नेछ ।पान मसला, खैनी, जर्दा, नश, चुरोटबाहेकका सूर्तीजन्य वस्तु उत्पादन गर्ने प्रतिष्ठानका लागि एक लाख २० हजार लाग्दै आएकामा अब दुई लाख रुपैयाँ शुल्क लाग्नेछ । रासस