भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालद्वारा मध्यप्रदेशको उज्जैनमा, महाकालेश्वर मन्दिरमा पूजाअर्चना

प्रधानमन्त्री पुष्पकमल दाहाल आज मध्यप्रदेशको उज्जैन पुगेका छन् । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्रीले आज उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा पूजाअर्चना गरेका हुन् । महाकालेश्रलाई १२ ज्योतिर्लिङ्गमध्ये एक मानिन्छ । नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शनसम्बन्धी व्यवस्थामा परिवर्तन गरी शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरूलाई प्रवेश निषेध गरिएको थियो ।
सो अवधिमा मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा ब्यवस्था कडा पारिएको थियो । महाराष्ट्रस्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री दाहाललाई मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गरेका थिए । प्रधानमन्त्री दाहालले आजै इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्टको भ्रमण गर्ने कार्यक्रम छ । इन्दोरको फोहोर व्यवस्थापन नमूनायोग्य मानिन्छ । इन्दोर भारतको सबैभन्दा सफा र फोहोर व्यवस्थापनमा उत्कृष्ट सहरको रुपमा चिनिन्छ ।
बेलुका उनी मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् । प्रधानमन्त्री दाहालले इन्दोरमा भाजपा र आरएसएसका नेताहरूसँग भेटघाट गर्ने सम्भावना समेत छ । प्रधानमन्त्री दाहालले भोलि शनिबार इन्दोरमा रहेको विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । भेलि नै दिउँसो १ बजे प्रधानमन्त्री दाहाल नयाँदिल्ली फर्किने छन् । शनिवार अपराह्न ४ः२० बजे उनी नयाँदिल्लीबाट काठमाडौं फर्किने कार्यक्रम छ ।
तपाइँको प्रतिक्रिया