काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा जनताको हितमा काम हुने बताएका छन् । मंगलबार पार्टी संसदीय दलको बैठकमा उनले नराम्रो नगर्ने प्रतिबद्धता जनाएका छन् ।“भारत भ्रमणमा सकेसम्म जनताको हितमा हुने गरी राम्रो काम गर्छौं । नराम्रो काम नगर्ने प्रतिबद्धता जनाउँछु,” सांसद लेखनाथ दाहालले प्रचण्डको भनाइ उद्धृत गर्दै भने, “अहिले परिस्थिति पनि पक्षमा बनेको छ । राम्रो काम हुन्छ ।”
प्रधानमन्त्रीले बजेट व्यवाहारिक भएको पनि बताएका छन् । बजेट कृषि केन्द्रित भएको प्रधानमन्त्रीको भनाइ छ ।त्यस्तै, स्थानीय विकास पूर्वाधार साझेदार कार्यक्रम (सांसद विकास कोष) राख्न नहुने पक्षमा आफू रहे पनि सांसदहरूको अपेक्षालाई सम्बोधन गर्नुपरेको बताए ।
बैठकमा माओवादीका सांसदहरूले संघीयता कार्यान्वयनका लागि स्थानीय तह र प्रदेशलाई नै प्राथमिकता दिनुपर्ने बताए । उनीहरूले सांसद विकास कोष कार्यक्रम नराखेको भए राम्रो हुने बताएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।“सांसदले हस्ताक्षर गरेर गएपछि अपेक्षा सम्बोधन गर्न उक्त कार्यक्रम राखिएको हो । अध्यक्षले दबाब आएकाले नै राखिएको भनेर प्रस्ट त भन्नुभएन,” एक सांसद भन्छन्, “तर, दबाबका कारण नै बजेट छुट्याइएको भन्ने हाम्रो बुझाइ हो ।”सांसदहरूले केही कार्यक्रम सच्याउनुपर्ने धारणा पनि राखेका छन् ।