चितवन – बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले गणतन्त्रका उपलव्धिहरु संस्थागत गर्नका लागि दलका नेता र कर्मचारी सच्चिन आबश्यक रहेको बताएका छन् । गणतन्त्र दिबस समारोह समिति चितवनले आज यहाँ आयोजना गरेको शहिद परिवार सम्मान तथा बिचार बिमर्श कार्यक्रममा बोल्दै उनले गणतन्त्रलाई संस्थागत गर्ने क्रममा बिभिन्न तवरबाट आक्रमण भईरहेको बताएका हुन् ।
उनले भने, “गणतन्त्र संस्थागत गर्नका लागि राजनैतिक दल इमान्दारिताका साथ लाग्नुपर्छ ।” नेता र कर्मचारीमा परिवर्तन आबश्यक रहेको भन्दै उनले थपे “नेता र कर्मचारीले घुस लिदैंनौ र खाँदैनौ भन्ने अठोट लिन सक्नु पर्छ ।”
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य गिता गुरुङ, हरि सापकोटा, इश्वर सापकोटा, नेपाली काङ्ग्रेस चितवनका सचिब ध्रुुब पोख्रेल, नेकपा एमालेका उपाध्यक्ष कमलराज पाठक, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, रास्वपाका जिल्ला अध्यक्ष कृष्णप्रसाद भूषाल, नेकपा समाजबादीका जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपाने लगाएतले गणतन्त्र संस्थागत गर्न सबै लाग्नु पर्ने बताए ।
सो अवसरमा शहिद परिवारलाई सम्मान गरिएको थियो । कार्यक्रममा लोकतान्त्रीक गणतन्त्रका बिषयमा रमाकान्त सापकोटा र डा. एकनारायण पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।
सोही अबसरमा गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको माध्यामिक बिद्यालय स्तरिय निवन्ध लेखन प्रतियोगितामा प्रथम हुने पोलर स्टार स्कुलका आँचल देवकोटा, द्धितीय हुने स्काईराईडर स्कुलकी प्रसंसा पंगेनी र तृतीय हुने भृकुटी स्कुलकी दृष्टि न्यौपानेलाई पुरस्किृत गरिएको थियो ।
गणतन्त्र दिवस मुल आयोजक समितिका संयोजक एबं जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले गणतन्त्र संस्थागत गर्न सबै लाग्नुपर्ने भन्दै यस अबसरमा गरिएका कार्यक्रमहरुका बारेमा जानकारी गराउनु भएको थियो । भरतपुरको चौबीसकोठीबाट सुरु भएको प्रभातफेरी जिल्ला समन्वय समितिमा आएर कार्यक्रममा परिणत भएको थियो ।