बाल संरक्षण तथा बेचबिखनबारे अभिमुखीकरण

एटुजेड समाचार

भरतपुर – बाल संरक्षण र मानव बेचबिखन तथा ओसारपसारको अवस्थाको सवालमा बुधबार भरतपुरमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड)का अनुसार सो क्षेत्रका सेवा प्रदायकहरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

भरतपुर महानगरपालिकामा बालबालिकाहरुको अवस्था, मानव बेचबिखनको अवस्था र मानव ओसारपसारको अवस्था दिनानुदिन जटिल बन्दै गएको सेलर्डको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सेलर्ड काठमाडौँको आयोजना तथा भरतपुर महानगरपालिकाको समन्वयमा भएको कार्यक्रममा स्थानीय तहमा बालबालिकाको संरक्षणसम्बन्धी कानुनी संयन्त्रका बारेमा पनि बृहत् छलफल गरिएको छ ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले सबै खालका बालबालिका महानगरको संरक्षणमा रहने उल्लेख बताए । महानगरपालिकाले बालबालिकाको क्षेत्रमा न्यायमूलक तरिकाबाट काम गरिरहेको बताउँदै उनले अब कोही पनि बालबालिका हाम्रो संरक्षणभन्दा बाहिर रहनुनपर्ने दाबी गरे ।

सेलर्ड काठमाडौँका सचिव तथा अधिवक्ता सुखदेव सापकोटाले बाल संरक्षणको वर्तमान अवस्था, चुनौती र बालबालिकाको संरक्षणका सम्बन्धमा हालसम्म भएका प्रयासहरुको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

भरतपुर महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ (१) अनुसार बालबालिकाको संरक्षण र सम्वद्र्धन गरिरहेको जनाएको छ ।

महानगरपालिकाले अभिभावकबिहीन तथा कुनै पनि सहारा नभएका ११ जना बालबालिकाहरुलाई प्रदेश सरकारको सहयोगमा मासिक दुई हजारका दरले भत्ता प्रदान गरिरहेको छ । महानगरले यसवर्ष बालबालिकाको क्षेत्रमा काम गर्नको लागि ६० लाख रूपैयाँ बजेट विनियोजन गरेको भरतपुर महानगर गैसस समन्वय तथा सामुदायिक परिचालन शाखा प्रमुख सुकदेव ढकालले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू